‘कविता नै सर्वोच्च विधा’
काठमाडौं । भृकुटीमण्डपमा जारी २२ औं अन्तर्रा्ष्ट्रिय पुस्तक मेलामा शुक्रबार कविबाट आख्यानकार भएका साहित्यकारहरूले बहस गरका छन् ।
पत्रकार लक्ष्मण श्रेष्ठ मोडरेटर रहेको ‘कवितादेखि आख्यान’ नामक सेसनमा कविहरू सरस्वति प्रतिक्षा, उपेन्द्र सुब्बा र बुद्धिसागरले कविताबाट आख्यान लेखनमा आउँदा हुने विभिन्न प्रक्रियाको बारेमा बहस गरे ।आफूलाई कवि हुन पाए नै रमाइलो लाग्ने बताउँदै कवि तथा कथाकार उपेन्द्र सुब्बाले आख्यान लेख्न लामो धैर्यता र मेहनत चाहिने कुरामा जोड दिए । ‘एक सुन्दर कविताले बोक्ने ओज सिङ्गो आख्यानको जति हुन्छ’, सुब्बाले थपे ।
साथै ‘नथिया’ उपन्यासमार्फत नेपाली आख्यानमा पदार्पण गरेकी कवि सरस्वती प्रतिक्षाले आफुले एउटा कविता लेख्दा एक चोटी मोक्ष पाएको महसुस हुने गरेकोमा आख्यान लेख्दा भने पटकपटक मोक्ष प्राप्त गरेझैँ लाग्ने अनुभव सुनाइन् । प्रतिक्षाले आफ्नो किताब आफैँलाई मन परे मात्र पनि लेखक सन्तुष्ट हुने आधार रहने कुरामा जोड दिइन् ।
यस्तै लेखक बुद्धिसागरले साहित्य लेखनको सीमीतता हुने बताउँदै हरेका स्रष्टाले आफ्नो समयको स्पेस खोज्नुपर्ने धारणा राखे । उनले भने ‘सबै विधाको सर्वोच्च विधा कविता नै हो, यसकारण पनि कविता जति लेखिए पनि राम्रा कवि अत्यन्त थोरै जन्मन्छन् ।’ बहसमा बुद्धिसागरले आफ्नो रचनाको लेखनगर्भका विषयमा पनि केही अनुभव सुनाएका थिए ।
बृहत् पुस्तक प्रदर्शनी शनिबारसम्म चल्नेछ ।