News स्वास्थ्य

डा. केसीको समर्थनमा चिकित्सक संघले अस्पतालअगाडि एक घण्टा धर्ना दिने

डा. केसीको समर्थनमा चिकित्सक संघले अस्पतालअगाडि एक घण्टा धर्ना दिने

काठमाडौं । नेपाल चिकित्सक संघले अामरण अनशनरत प्रा. डा. गोविन्द केसीको माग यथाशीघ्र पूरा गर्न सरकारलाई दबाब स्वरूप बुधबारदेखि अस्पतालमा कार्यरत चिकित्सकहरूले एक घण्टा धर्ना दिने बताएको छ। 

 

सघंले मंगलबार एक विज्ञप्ति निकाल्दै डा. केसीको माग चाँडै सम्बोधन गर्नको लागि सरकारलाई दबाब दिन बिहान १० देखि ११ बजेसम्म आफू कार्यरत अस्पतालमै धर्ना गर्ने जनाएकाे हाे । 


सघंले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आ-आफ्नो स्वास्थ्य संस्थामा अर्को निर्णय नहुँदासम्म प्रत्येक दिन दैनिक कार्य सुरु हुने समयबाट एक घण्टा कालोपट्टी बाँधी धर्ना, र्‍यालीलगायतका कार्यक्रम सञ्‍चालन गरिनेछ।'

 

यसअघि डा. केसीको सन्दर्भमा चारबुँदे विरोधका कार्यक्रम सार्वजनिक गरेको संघले जायज मागमा ऐक्यबद्धता जनाउँदै उनको जीवनरक्षाको माग गरेको थियो। यसअघि एनएमएले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी डा. केसीको माग तत्काल सम्बाेधन गर्न ७२ घण्टाको अल्टिमेटम दिएको थियो। सो अल्टिमेटम मंगलबारबाट सकिएको छ।
 

डा. गोविन्द केसी नेपाल चिकित्सक संघ

विशेष