News देश प्रदेश ४

आमाबाबुको मृत्यु, १२ वर्षीय बालक किरियामा

आमाबाबुको मृत्यु, १२ वर्षीय बालक किरियामा

पोखरा । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको ट्रिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको मृत्यु भएको थियो ।

 

अभिभावकको मृत्युपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा नै आफन्तको सहयोगमा १२ वर्षीय विवश यतिखेर किरियामा छन् । नाबालक  ६ वर्षीय भाइ विशेषन कपाल मुण्डन गरी सेता कपडामा बेरिएर किरियामा बसेका दाजुलाई टुलुटुलु हेरिरहन्छन्, उनको मनमा पनि कताकता नरमाइलो अनुभूति हुने गरेको छ । 

 

विवश र उनका भाइलाई उनका बाबुआमा मौसम र जीतमाया पोखराको नयाँबजारस्थित भाडाको कोठामा किराना पसलबाट आवश्यक खाद्यान्न उपलब्ध गराउने व्यवस्था गरी लगभग तीन महिनाअघि रोजगारीका सिलसिलामा मुस्ताङ गएका थिए ।

 

उनीहरू शुक्रबार लगभग अपराह्न १ः३० बजे भएको अकल्पनीय दुर्घटनाको शिकार भएका हुन । बाबुआमा गुमाएका विवशले १३ दिनसम्म किरिया गर्नुपर्ने संस्कार भए पनि आफन्तले तीन दिनमा नै सक्ने गरी व्यवस्था गरेका छन् । 


मौसम दम्पतीको काजकिरियाको व्यवस्था शनिबार रोल्पा पोखरा सम्पर्क समाजले नै मिलाएको थियो । बिरुवा कन्स्ट्रक्सन प्रालिबाट किरिया खर्च ५० हजार प्राप्त भएको समाजका सल्लाहकार एवं विवशका हजुरबुबा पूर्ण बुढाले जानकारी दिए ।

 

वैशाखअघि सेतीनदीस्थित रामघाटमा बालुवा बोकेर जीविकोपार्जन गर्दै आएका मगर दम्पतीको सोही घाटमा नै शनिबार अन्त्येष्टि गरिएको थियो । वर्षात् शुरु भएसँगै सेती नदीमा पानी बढेका कारण रोजगारी खोसिएपछि अर्को रोजगारीको खोजीमा उनीहरू वैशाखमा बिरुवा कन्ट्रक्सन प्रालिको जोमसोम लोमान्थाङ सडक निर्माण आयोजनामा मजदूरका रुपमा मुस्ताङ पुगेका थिए । उनीहरूका आमाबुबासहित मामा, मामाकी छोरी, काकीलगायत आठ आफन्तको सो घटनामा मृत्यु भएको थियो । 

मृत्यु मुस्ताङ

विशेष