गुफामा फसेका किशोरहरुलाई विश्वकप फाइनल हेर्न फिफा अध्यक्षको निम्तो
मस्को । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इनफ्यानटिनोले थाइल्यान्डको गुफाबाट पुनर्जन्म पाएका किशोररहरुलाई विश्वकप फुटबलको फाइनल खेल हेर्न निम्तो पठाएका छन् । गुफामा फसेर बाँचेका किशोरहरुको फुटबल टिमलाई विश्वकप फुटबलको फाइनल हेर्ने निम्तो फिफा अध्यक्षले पठाएका हुन् ।
इनफ्यानटिनोले भनेका छन्, 'मलाई विश्वास छ, दुई साता पहिले गुफामा बाढीको पानीले फसेका ‘वाइल्ड बोअर्स ’ टिमका सबै खेलाडीलाई बचाइनेछ । उनीहरु गुफाबाट निस्केर १५ जुलाईमा मस्कोमा हुने विश्वकपको फाइनल हेर्न उपस्थि हुन सक्नेछन् ।'
इनफ्यानटिनोले थाइल्यान्ड फुटबल संघका प्रमुखलाई पठाएको पत्रमा लेखेका छन्, 'हामीलाई आशा छ, उनीहरु चाँडै परिवारसँग मिल्नेछन् । यदि उनीहरुलाई स्वास्थ्यले साथ दिएमा र यात्रा अनुमति पाएमा उनीहरुलाई विश्वकप फुटबलको फाइलनमा पाहुनका रुपमा स्वागत गर्न म आतुर छु ।'
उनले गुफाबाट निस्केका किशोरहरुसँग फाइनल खेल हेर्न पाए त्यो अर्को उत्सव हुने बताएका छन् । 'मलाई आशा छ, फाइनल खेलमा हामीसँगै उनीहरु हुनेछन् । जुन नि:संदेह उत्सव मनाउने एउटा अद्भुद क्षण हुनेछ ।’ थाईल्यान्डका ११ देखि १६ वर्षसम्मका फुटबल खेलाडी २३ जुनदेखि आफ्ना प्रशिक्षकसँगै १० किलोमिटर लामो अध्याँरो गुफामा फसेका छन् । जसमध्ये नौजनालाई सोमबारसम्ममा बाहिर निकालिसकिएको छ ।
वेपत्ता भएको १० दिनपछि गुफाको साढे ४ किलोमिटर भित्र उनीहरुलाई गोताखोरको टोलीले पत्ता लगाएको थियो । भेटिएका किशोरहरुको भिडियो सार्वजनिक गरिएपछि उनीहरुको परिवार पनि खुसी भएका थिए ।
विश्व फुटबल जियानी इनफ्यानटिनो