कभर स्टोरी राजनीति

कृष्णजस्ता सारथि खोज्दा ओलीले भेटे दुर्याेधन जस्ता रथि

कृष्णजस्ता सारथि खोज्दा ओलीले भेटे दुर्याेधन जस्ता रथि

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन हुँदाको बलियो जग एकपछि अर्को विवादले विस्तारै कमजोर बनिरहेको छ । केही विवाद प्रधानमन्त्री ओलीले स्वयं निम्त्याइरहेका छन् भने केही उनका मन्त्रीमण्डलका सदस्यहरूले । 

 

अपेक्षाअनुसार काम गर्न नसकेपछि शक्तिशाली सरकारलाई जनभावना, विकास निर्माण र समृद्धिका काम गर्न के कुराले रोक्यो भन्ने चासो देखिन थालेको छ । प्रधानमन्त्री ओलीको हिजोको दिनमा नगण्य रूपमा हुने गरेको आलोचना आज नगण्य रूपमा समर्थनमा परिणत हुँदै गएको छ । जसले गर्दा ओली नेतृत्वकै छविमा धमिलोपना घेरिँदैछ ।

 

ओलीले डा. गोविन्द केसीको माग सम्बोधन नगेर पनि आलोचित भइरहेका छन् । यदि यही बेला डा. केसीलाई तलमाथि भए नेपाली राजनीतिमा ठूलो भूकम्प नै जाने प्रायः निश्चित छ । 


यो चासो र चिन्तासँगै सरकार गठनका बेला देखिएको जनविश्वास क्रमशः खस्कँदै गएको अनुमान पनि गर्न थालिएको छ ।
तर, सत्तारूढ दलका नेताहरूले सरकारलाई घेराबन्दी गरिएको भन्दै बचाउमा उत्रन थालेका छन् ।

 
पेचिला विकासे भाषणले वाहवाही बनेका ओलीका सपना पूरा गर्ने सामथ्र्य उनको मन्त्रीमण्डलका सदस्य कसैमा पनि देखिँदैन । सरकार गठन भएको आधा वर्ष र स्थानीय तह गठन भएको झन्डै एक वर्ष पुग्नै थालेको छ । 


तर ओली र उनका मन्त्रीमण्डलका सदस्यहरू अझैँ सुशासनका भाषण दिँदै एकपछि अर्को गरी विवादमा तानिँदै गरेको देखिन्छ । विवाद जन्माउने मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, सांस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, खानेपानीमन्त्री बिना मगर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुल बाँस्कोटा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट अगाडि देखिएका छन् । 


रघवीर महासेठ


विवादभित्रको महाविवादको घेरामा रहेका छन् । यतिबेला भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ ।
यातायात क्षेत्रको सिन्डिकेट हटाउन यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका बेला महानिर्देशक भट्टराईलाई मन्त्रालयमा तानेपछि मन्त्री महासेठको आलोचना सुरु भएको थियो । 


अहिले भट्टराई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा काज सरुवा गरेको दुई महिनाभन्दा बढी भयो । मन्त्रालयले कुनै काम र कार्यकक्ष समेत नदिएपछि बेरोजगार भएका भट्टराई अहिले दैनिक कार्यालयमा काम गर्न हैन हाजिर गर्न जाने गरेका देखिन्छन् । 
मन्त्री महासेठले जापान सरकारको सहयोगमा बनेपा–खुर्कोट–सिन्धुलीसम्मको बिपी हाइवेमा मापदण्डविपरीत ठूला बस सेवा सञ्चालन गर्न निर्देशन दिए ।


उनले सडकको क्षमता र संरचना नहेरी निर्णय गरेको भन्दै यसप्रति व्यापक आलोचना मात्र भएन सर्वोच्च अदालतमा मुद्दासमेत दायर भयो । 


५ मिटर मात्र चौडाइ भएको सो सडकमा ठूला सवारीसाधन सञ्चालन जोखिमपूर्ण हुने इन्जिनियरहरूले बताउँदै आएका छन् । यद्यपि त्यहाँ अहिले स्थानीयहरूले रासन सुविधा नभएको भन्दै आन्दोलन चर्काएपछि ठूला यातायातका साधनहरू सञ्चालन गर्न सर्वोच्चले आदेश दिइसकेको छ । 


त्यस्तै मन्त्री महासेठ गृहमन्त्री रामबहादुर थापाको एक्सनमा बाधक बनेका देखिन्छन् । उनले ठेकेदारहरूलाई आफ्नो काँधमा बोकेर उनीहरूको बचाउ गर्दै गृहमन्त्रीको कार्ययोजना तुहाउने बाटोमा लागे ।


मन्त्री महासेठले असार ३ गते निर्माण व्यवसाय परिषद्को बैठकमा भने, ‘अब विगतमा जस्तो व्यवहार हुँदैन, कुनै पनि निर्माण व्यवसायीलाई धरपकड भएमा तुरुन्त मलाई खबर गर्नुस्’ । 


 महासेठमाथि लागेका आरोपका टाइमलाइन 

   यातायात व्यवस्था विभागका महानिर्देकमाथि ‘कू’

 बिपी राजमार्गमा क्षमताभन्दा ठूला गाडी सञ्चालनमा अनुमति दिनु

   कामचोर ठेकेदारमाथि एक्सन लिनुको सट्टा संरक्षण गर्नु

  गृहमन्त्रीसँग कार्यक्षेत्र विवादमा फस्नु


रवीन्द्र अधिकारी


विगतमा सरकार, मातहतका निकाय र सरोकारवाला पक्षका विकासका कामलाई नियाल्ने र खबरदारी गर्ने भूमिकामा रहेका युवा नेता रवीन्द्र अधिकारी अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको पदमा आसीन छन् । 


मन्त्रालय सम्हालेको ४ महिनामा तिनै खबरदारीका संवाहक मन्त्री अधिकारी पछिल्लो समय आफैं विभिन्न विषयमा आलोचित बन्न थालेका छन् । 


चुनावका बेला माला लगाएर किसानको गोठमा गाई दुहेर चर्चामा आएका अधिकारी मन्त्री भएपछि सुरक्षाकर्मीलाई छाता ओढाउन र आफ्नो कोट बोकाउन लगाएपछि पनि विवादित बनेका थिए । त्यसपछि उनी विभिन्न संघसंस्थालाई मन्त्रीस्तरीय निर्णयबाट मन खोलेर करोडौँ रुपैयाँ ‘दान’ गरेको विवादमा फसे ।

 

यसरी दान दिएका संस्थाहरू पार्टी निकटका नेता, कलाकार, साहित्यकार निकटका छन् भने आफ्नो निर्वाचन क्षेत्र निकट रहेको बुझिन्छ । देश र जनताको भलाईका लागि काम गर्नेभन्दा पनि अधिकांश झोले संघसंस्थाहरूलाई मनलाग्दी पैसा बाँडेको आरोप उनीमाथि लाग्ने गर्छ ।

 

उनले असारको पहिलो साता ८७ र जेठको अन्तिम सातामा ४४ गरी १ सय ३१ संस्थालाई पैसा बाँडेका हुन् । विभिन्न नेताका नाममा खुलेका एउटै संस्थालाई करोडभन्दा माथिको रकम दिए । नेताका नाममा खुलेका संस्थाहरूलाई मात्रै १५ करोड हाराहारी रकम बाँडेको बुझिन्छ ।

 

साथै उनी अहिले जहाज खरिद प्रकरणमा अर्बौं हिनामिना गरेको आरोप पनि मुछिएका छन् । उनले एभिन्युज टेलिभिजनसँग दिएको अन्तर्वार्तामा जवाफदेही हुन नसकेर ‘मसँग साना साना कुरा गर्ने भन्दै पन्छिन खोजेका देखिन्छन् ।’ जुन सामाजिक सञ्जालमा भाइरल भएको छ । 


मन्त्री अधिकारीका विवादित टाइमलाइन 

     सुरक्षाकर्मीलाई छाता ओढाएको

    आफ्नो कोट बोकाउन लगाएको

    झोले संघसंस्थाहरूलाई मनलाग्दी पैसा बाँडेको

     विमान खरिद प्रक्रियामा एभिन्युजका पत्रकारलाई अमर्यादित व्यवहार 


बिना मगर


प्रचण्डको ताप र रापले छिट्टै उदाएकी खानेपानीमन्त्री बिना मगरलाई विवादले पदीय गुमाउने संकट देखापरेको छ । मेलम्ची खानेपानी आयोजना काठमाडौं ल्याउनेदेखि हिमाली भेगको पानीको निर्यात गर्ने उनका मुख्य चर्चित प्रतिबद्घता हुन् । 


उनले बेला बेलामा हिमालको पानी विदेश निर्यात गरेर ठूलो रकम आम्दानी गर्न सकिने बताउँदै आएकी छन् । जबकि नेपालका ८० प्रतिशतभन्दा बढी जनतालाई सुरक्षित खानेपानी नपुगेको विषयमा भने उनको योजना छ ।

 

उनले काभ्रेको बनेपा नगरपालिकाको बुढाथोकीगाउँ लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता हिमालको पानी विदेशमा बेच्ने योजना कार्यान्वयन गरेर खानेपानी मन्त्रालयले समृद्ध नेपाल निर्माणमा योगदान गर्ने बताएकी थिइन् ।

 

त्यस्तै उनले गत वैशाख २९ गते र ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुमा आयोजित लुभु खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाअन्तर्गत तल्लो दोभान खानेपानी आयोजनाको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै यस्तै कुरा बताएकी थिइन् ।


 मन्त्री बिनाका विवादित टाइम लाइन 

    समयमै मेलम्ची खानेपानी आयोजना काठमाडौं ल्याउन नसक्नु

     हिमालको पानी विदेश निर्यात गरेर डलरको खेती गर्न सकिने बताइरहनु

     पानी उद्योग सञ्चालन गरी युवालाई रोजगारी दिने सपना बाँड्नु

    अझैं देशमा ८० प्रतिशत जनताले खानेपानी समस्या व्याप्त हुनु 


गोकुल बाँस्कोटा


सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुल बाँस्कोटा सबैभन्दा बढी नेपाल टेलिभिजनको कार्यक्रम ‘सीधा प्रश्न’ बन्द गरेपछि विवादित रहे । 

 

शनिबार बेलुकी ८ बजेर ५० मिनेटमा प्रसारण हुँदै आएको उक्त कार्यक्रम सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बन्द गर्न दबाब दिएपछि बन्द भएको कार्यक्रम निर्माता तथा प्रस्तोता राजु थापाले आरोप लगाएका छन् ।

 

केही दिनअघि सोही कार्यक्रममा मन्त्री बाँस्कोटाले अन्तर्वार्ता दिँदा झूट बोलेको कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि कार्यक्रम बन्द गरिएको थापाको दाबी छ । अन्तर्वार्तामा ‘तपार्इंले श्रीमतीको माइतीबाट आएको १७ तोला सुन र ६० तोला चाँदी भनेर सम्पत्ति विवरणमा उल्लेख गर्नु भएको छ त?’ भन्दा सञ्चारमन्त्री बाँस्कोटाले उल्टै प्रश्नकर्ता थापाले झूट बोलेको भनेर दाबी गरेका थिए । 

 

उत्तिनैखेर थापाले सुन र चाँदी श्रीमतीको माइतीले दिएको भनेर सञ्चारमन्त्रीले नै बुझाएको सम्पत्ति विवरण पढेर सुनाएका थिए । त्यसपछि मन्त्रीले फेरि श्रीमतीलाई माइतीले दिएको भन्दै प्रस्ट्याउने कोसिस गरेका थिए । त्यस्तै मन्त्री बाँस्कोटा नेपाल टेलिकमको इन्टरनेट शुल्कलगायत कुरामा पनि मुछिएका छन् ।

उनले केही समय अगाडि फोन महशुल र इन्टरनेट महशुल घटाउने घोषणा गरेका थिए । तर त्यसको केही दिनमै फोन महशुल बढेर आएको छ । त्यस्तै उनले सञ्चारमाध्यमसम्बन्धी उपयुक्त नीति ल्याउन नसकेको, सामसुङको आइफोन भन्ने जस्ता शब्द प्रयोग हुनु जस्ता पनि विवादित विषय छन् । 


मन्त्री बाँस्कोटाका विवादित टाइम लाइन  

     नेपाल टेलिभिजनको कार्यक्रम ‘सीधा प्रश्न’ बन्द गरिनु

    सम्पत्ति विवरण झूटो पेस गर्नु 

     सामसुङको आइफोन भनी उल्लेख गर्नु

    उपयुक्त सञ्चार नीति ल्याउन नसक्नु

     दूर सञ्चार सेवामा इन्टरनेट शुल्क र फोन महसुल बढेर आउनु


गोकर्ण बिष्ट


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेका छन् । उनले जुन १ गते जेनेभामा गरेको भाषण एक महिनापछि चर्चामा आएको हो । मन्त्री बिष्टले जेनेभामा गरेको अंग्रेजी भाषणमा शब्द उच्चारणमा केही समस्या भने देखिएको छ ।


मन्त्री बिष्टले वैदेशिक रोजगारी व्यवसायमा व्यापक सुधार अभियान सुरु गरेपछि मेनपावर व्यवसायीहरू उनलाई आलोचित बनाउन उक्त भाषण चर्चामा ल्याएको स्रोतको दाबी छ ।

 

वास्तवमा मन्त्री बिष्टको विरोध गर्ने कुनै पनि अस्त्र फेला नपरेपछि उनको अंग्रेजी उच्चारणलाई प्रचारमा ल्याइएको बुझिन्छ । यद्यपि यो उनको टाउको दुःखाइको विषय भने पक्कै हो ।

 

यसले उनलाई विवादित पनि बनाइरहेको छ । अर्कोतिर उनी श्रम तथा रोजगारमन्त्री भएकाले भने जस्तै एक्सन लिन नसकेको भन्दै विवादित बनेका छन् । गोकर्ण बिष्टले एउटा सफल ऊर्जा मन्त्रीका रूपमा जुन अनुभव हासिल गरिसकेका थिए । त्यही सफलता उनले यसपटकमा देखाउन सकेका छैनन् ।


रामबहादुर थापा


गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पछिल्लो समय सबैभन्दा बढी जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई अधिनायकवादी भन्दै प्रहरी प्रशासन लगाएर दुव्र्यवहार गरेर आलोचित भएका छन् । त्यस्तै यातायात सिन्डिकेट हटाएर एकाएक दबंग बनेका थापाले कारबाही गर्न अनकनाएको भन्दै थप विवादित बने ।

 

नेकपा ‘विप्लव’ का नेता तथा कार्यकर्तालाई गैरसंवैधानिक रूपमा पक्राउ गरी ‘फासिस्ट’ चरित्र देखाएर वाम खेमाभित्रै विवादित बन्न पुगे । 


उनले सिन्डिकेट खारेजी, ३३ किलो सुनकाण्डमा महत्वपूर्ण भूमिका खेलेर वाहवाही पनि कमाए तर कार्यान्वयन र कारबाही प्रक्रिया जस्ता केही पक्षमा उनी कमजोर बने । 


लालबाबु पण्डित
 

लालबाबु असाधारण मन्त्री मानिन्छन् । संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितलार्इ कर्मचारीतन्त्रमा निकै सुधार गर्लान् भन्ने सबैकाे अनुमान थियाे । तर पण्डितका घाेषणा पनि सुरु-सुरुमा जसरी चम्के पछिल्ला दिनहरुमा त्यसैगरी सेलाउदै गर्इरहेका छन् । उनका घाेषणाकाे कार्यान्वायनकाे पक्ष फितलाे बन्दै गर्इरहेकाे छ ।

कर्मचारीहरु मन्त्री पण्डितका अादेश सुनेर पनि कानमा तेल हालेर शहरी इलाकामा एेस गरिरहेकै छन् । दुर्गम स्थानिय तहमा कर्मचारी नपुगेर समयमै काम कार्बाही नभएका र एक दुर्इ कर्मचारीले गाउँपालिका, वडाकाे काम हेर्नुपरेका समाचार दिनहुँ जसाे मिडियामा अाइरहन्छन् । 

केपी शर्मा ओली गोकुल बास्कोटा लालबाबु पण्डित बिना मगर रवीन्द्र अधिकारी रामबहादुर थापा ‘बादल’ गोकर्ण बिष्ट

विशेष