News Breaking News मुख्य समाचार समाज

डाक्टरमाथि कारबाही गर्ने स्वास्थ्य राज्यमन्त्री अर्यालको चेतावनी

कांग्रेसले भन्यो, ‘डा. केसीको मागलाई लिएर राजनीति गर्नु छैन’

डाक्टरमाथि कारबाही गर्ने स्वास्थ्य राज्यमन्त्री अर्यालको चेतावनी

काठमाडौं । दुई तिहाइ बहुमतको दम्भ बोकेको सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले जनताको स्वास्थ्यमाथि खेलबाड गरी उपचार सेवा बन्द गर्ने चिकित्साकर्मीमाथि कारबाही गर्ने चेतावनी दिएकी छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा राज्यमन्त्री अर्यालले भनिन्, ‘अस्पतालको सेवा बन्द गरेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने जो कोहीलाई सरकार कारबाही गर्न पछि पर्ने छैन ।’ 


उनले डा. गोविन्द केसीको जायज माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । उनले डा. केसीको स्वास्थ्योपचारको जिम्मा सरकारले लिने पनि स्पष्ट पारिन् । राज्यमन्त्री अर्यालले डा. केसीलाई आफ्ना माग सम्बोधनका लागि वैधानिक बाटो रोज्न आग्रह गरिन् । विश्वविद्यालय, मेडिकल कलेज तथा अस्पतालमा गएर अनशन बसेर डा. केसीको माग पूरा नहुने उनको भनाइ थियो । 


सोही कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले केदारभक्त माथेमा प्रतिवेदनबाट चिकित्सा क्षेत्र सुधारका लागि सुझाव लिएको भन्दै शतप्रतिशत कार्यान्वयन गर्न नसकिने बताए । ‘माथेमा प्रतिवेदन सुझाव दिन मात्र बनाएको हो । प्रतिवेदनमा १० वर्षसम्म काठमाडौंमा कलेज नखोल्ने भनेर सुझाव मात्र दिइएको हो’, उनले भने, ‘माथेमाले दिएको सुझाव मान्नुपर्दछ भन्ने छैन, सुझाव हो, राम्रो लागे मान्ने हो, नभए मान्ने होइन ।’ 

 

भट्टराईले कसैले केहीका लागि अनशन बस्दैमा माग पूरा गर्नुपर्ने भन्ने नभएको बताए । उनले भने, ‘केसीले भनेका मात्र कलेजलाई सम्बन्धन दिने, अरूलाई नदिने भनेर कहाँ लेखेको छ ।’  नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले डा. केसीका कतिपय माग जायज भएकाले छलफल गरेर टुङ्याउनुपर्ने बताए । उनले केसीका मुद्दालाई देखाएर कांग्रेसलाई राजनीति गर्ने रहर नभएको स्पष्ट पारे । 

 

कार्यक्रममा नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलले डा. केसीका माग सरकारले वार्ताबाट टुङ्याउनुपर्ने बताए । 
उता स्वास्थ्यराज्यमन्त्री अर्यालको चेतावनीका अतिरिक्त नेपाल चिकित्सक संघको आह्वानमा बुधबार देशभरका चिकित्साकर्मीहरू बिहान १० बजेदेखि ११ बजेसम्म काम छाडेर १ घन्टा धर्ना कार्यक्रममा सहभागी भएका थिए । 

 

यसैबीच डा. केसीलाई उद्धार भनी जुम्ला जान खोजेको हेलिकोप्टर बुधबार अपराह्नसम्म उड्न सकेको थिएन । डा. दिव्या सिंह र नेपाल चिकित्सक संघका प्रतिनिधि हेलिकोप्टर लिएर उद्धारका लागि जुम्ला जाने तय भएको थियो । तर, चिकित्सक संघले प्रतिनिधि नपठाएपछि हेलिकोप्टर रोकिएको बताइन्छ । सरकारले वार्ताको भरपर्दो आधार प्रस्तुत गर्न नसकेका कारण चिकित्सक संघले प्रतिनिधि पठाउन रुचि नदेखाएको संघ निकट स्रोतले जनाएको छ । डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको काठमाडौंमा चिन्ता व्यक्त गरिएको छ । डा. सिंहले मौसम र समन्वय अभावका कारण हेलिकोप्टर जुम्ला उड्न नसकेको बताइन् । 

नेपाल चिकित्सक संघ

विशेष