News कर्पोरेट

नेपाल टेलिकम सधैँ एक नम्बरमै रहनु पर्छः मन्त्री बाँस्कोटा

नेपाल टेलिकम सधैँ एक नम्बरमै रहनु पर्छः मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुखी र समृद्ध नेपाल बनाउने सरकारको संकल्पमा नेपाल टेलिकमले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने  बताएका छन् ।


नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको शनिबार निरीक्षण भ्रमण गरी मन्त्री बाँस्कोटाले गुणस्तर, राजस्व र प्रतिष्ठामा नेपाल टेलिकम सधैँ एक नम्बरमै भइरहनु बताए । उनले ‘स्मार्ट नेपाल’ बनाउन नेपाल टेलिकम पनि ‘स्मार्ट’ हुनु पर्ने भन्दै यसबाट डिजिटल नेपाल बनाउने सरकारको चाहनासमेत पूरा गर्न सहयोग पुग्ने उनकाे भनाइ थियाे ।

 

मन्त्री बाँस्कोटा भने, ‘नेपाल टेलिकमले पूर्वाधारको विकासमा जोड दिँदै जनताको घरघरमा सेवा पुर्‍याउने तथा बजारमा आफ्नो प्रभुत्व जमाउने किसिमको योजना बनाउनु पर्छ र यसका लागि आवश्यक नीति, योजना र कार्यक्रम निर्माणमा आगामी दिनमा मन्त्रालयको संलग्नता रहिरहने छ ।’

 

कम्पनीमा क्रियाशील युनियनहरूको ज्ञान, सीप र क्षमता सहकर्मीहरूको हितमा मात्र नभई संस्थाको हितमा पनि उपयोग गर्नुपर्नेमा मन्त्री बाँस्कोटाले जोड दिए । उनले अधिकार खोज्ने मात्र नभई, कर्तव्यको पनि पालना गर्नु पर्ने कुरा युनियनहरूलाई स्मरण गराउँदै राजनीति गर्नका लागि मात्र युनियनलाई प्रयोग नगर्न आग्रह गरे । 

 

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले विभागीय मन्त्रीबाट भएको निर्देशन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले प्रविधिको दु्रत परिवर्तन, ग्राहकको बढ्दो चाहना र प्रतिस्पर्धात्मक बजारजस्ता कम्पनीका वर्तमान चुनौतीको सामना गर्न सम्पूर्ण कर्मचारीहरूलाई इमान्दारीपूर्वक आफ्नो कर्तव्य पालनामा क्रियाशील हुन आग्रह गरिन् ।

 

निर्देशक राजभण्डारीले ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिने, सेवाको मर्मत सम्भारलाई अझ छिटो छरितो पार्ने र कम्तीमा १० प्रतिशत ग्राहक संख्या र कम्तीमा १० प्रतिशत राजस्व वृद्धि गर्ने कम्पनीको उद्देश्य परिपूर्ति गर्न अनुशासित र एकजुट भई आ–आफ्नो क्षेत्रबाट कार्य गर्न सम्पूर्ण कर्मचारीलाई आग्रह गरिन् । 

 


पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक अमरनाथ झाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रको वर्तमान स्थिति, कार्यक्रम र गतिविधिबारे जानकारी गराएका थिए ।

 

झापामा एमसान एक्सचेन्ज उद्घाटन

पूर्वाञ्चल क्षेत्रको निरीक्षण भ्रमणको सिलसिलामा मन्त्री बाँस्कोटाले असार १४ गते झापा जिल्लाको खुदुनाबारीमा जडान गरिएको ‘एमसान एक्सचेन्ज’  उद्घाटन गरेका थिए । सो एक्सचेन्जमार्फत तत्काल एडीएसएल सेवासहितको १ सय ४४ लाइन टेलिफोन वितरण गर्न सकिने छ ।

 

मन्त्री बाँस्कोटाले स्थानीय ‘रेडियो भिजन विर्तामोड’ का सञ्चारकर्मीसँग कुरा गरी सो एक्सचेन्जको उद्घाटन गरेका हुन् । उनले नागरिकको अधिकारको रूपमा रहेको सञ्चार सेवालाई नेपाल टेलिकमले सहरदेखि दुर्गम क्षेत्रका घरघरमा समेत पुर्‍याउनुपर्नेमा जाेड दिए ।

 

मन्त्री बाँस्कोटाले मोबाइल सेवासँग मानिसको जीवन्त सम्बन्ध भएकाले कुनै पनि नागरिक यो सेवा प्राप्त गर्नबाट बञ्चित हुनु नहुने बताए । झापा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलले सर्भे भइसकेका क्षेत्रमा बिटिएस टावर निर्माण गर्न र सर्भे नभएका स्थानमा सर्भे गरी भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन आग्रह गरिन् । 


कम्पनीका प्रबन्ध निर्देशक राजभण्डारीले नेपाली जनताको धरोहरको रूपमा रहेको नेपाल टेलिकमले विगतमा जस्तै भविष्यमा पनि नेपालीको घरदैलोसम्म गुणस्तरीय एवं सुलभ दूरसञ्चार सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन् ।

 

कम्पनीले भविष्यमा पूर्वाञ्चल क्षेत्रमा ७ सय ५ वटा फोर जीका टावर सञ्चालनमा ल्याउने र त्यसबाट कुल १२ लाख ६० हजार ३ सय ५ लाइन क्षमता र हाल सम्मकै उच्च गतिको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध हुने  उनले जानकारी गराइन् । 

गोकुलप्रसाद बाँस्कोटा कामिनी राजभण्डारी

विशेष