News विदेश

कहाँ छन् पुटिन ?

कहाँ छन् पुटिन ?

मस्को । अयोजक रूसको विश्वकप यात्रा क्रोएसियासँग टाइब्रेकरमा पराजित भएपछि टुंगिएको थियो । सोभियत युनियन १९९१ मा विघटन भएपछि रूसले विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्दा राष्ट्रपति भ्लादिमिर पुटिन भने राष्ट्रिय टोली एक खेल हेर्न एक पटक रंगशाला पुगेका थिए । रंगशालामा पुटिनको अनुपस्थितिलाई लिएर समर्थकले प्रश्न गरेका छन्।

 

साउदी अरेबियाविरुद्धको उद्घाटन खेल हेर्न रंगशाला पुगेका पुटिन बाँकी चार खेलमा भने उपस्थित भएनन् । प्रतियोगितामा सबैभन्दा तल्लो वरीयतामा रहेको रूसले अविश्वसनीय रूपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।

 

‘राष्ट्रपति कता गए ?’ एक लोकप्रिय सञ्चारमाध्यममा नेजिगरले सोधेका थिए । क्रोएसियाविरुद्ध पेनाल्टी सुटआउटमा पराजित भएको खेल हेर्न रंगशाला पुगेका प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई मेन्सन गर्दै अर्का एक समर्थक पाभेल गोन्डरेभले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुटिनलाई भन्दिनू, उनी उपस्थित भएको भए हाम्रो टिमले जित्न सक्थ्यो।’

 

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले प्रतियोगिताको उद्घाटन र समापन समारोहका लागि मात्र पुटिनले समयतालिका मिलाएको बताएका छन् । ‘धेरै व्यस्त हुने समयमा खेलतालिक रहेका कारण’ पुटिनले रंगशालाको उपस्थितिलाई कम गरेको पेसकोभले बताए।

 

रूस र क्रोएसियाबीचको खेलमा पुटिन अनुपस्थित हुँदा उनका क्रोएसियाली समकक्षी कोलिन्डा ग्राबर कितारोभिच देशको राष्ट्रिय झन्डा र जर्सी लगाएर रंगशाला पुगेकी थिइन् । फ्रान्स र बेज्लियमबीच हुने सेमिफाइनल खेलका लागि फ्रान्सेली राष्ट्रपति इमानुयल माक्रोन रूस पुगेका छन् । तर पुटिनले खेल हेर्ने योजना बनाएका छैनन्।

 

पुटिन किन प्रतियोगिताबाट टाढा बसेका छन् भन्ने चासो मस्कोमा व्याप्त छ । रूसी मिडियाले देखाएका उच्च तहका अधिकारीहरूमाझ पुटिन देखिएका छैनन् । जुडोका ब्लाक बेल्ट र आइस हक्कीका फ्यान पुटिन रंगशाला अनुपस्थित हुनको कारण फुटबलमा रुचि नभएको देखाइएको छ।

 

मस्कोका एक राजनीतिक विश्लेषकले नकआउट चरणमा रूसको प्रतिद्वन्द्वी बलिया टोली भएको र पुटिन रूसको सम्भावित हारमा सामेल हुन नचाहेको बताएका छन् ।‘भ्लादिमिर पुटिन जित र सफलतामा रमाउन चाहन्छन् । तर हार र असफलतासँग सम्मिलित हुन चाहनन्न् । उनी सधैं यो मानसिकताबाट अगाडि बढेका हुन्,’ राजनीतिक विश्लेषक भलेरी सोलोभेले भने।

 

प्रधानमन्त्री दिमित्री मेदभेदेभले रूसले नकआउट चरणमा खेलेको २ खेल हेरेका थिए । अन्तिम १६ मा रूसले स्पेनलाई पराजित गरेको थियो भने क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित भएको थियो । प्रधानमन्त्रीले पुटिन रंगशालामा अनुपस्थित भए पनि टाढैबाट खेल हेरिरहेको बताए । हार्नुका बावजुद पुटिनले प्रशिक्षकसहित रूसी टोलीलाई बेलाएर विश्वकपबारे छलफल गरेको प्रधानमन्त्रीले बताए।

विश्वकप फुटबल भ्लादिमिर पुटिन

विशेष