News कला साहित्य

जारद्वारा काटिएका जगंबहादुर

जारद्वारा काटिएका जगंबहादुर

काठमाडाैं । काँखमा पल्टिरहेकी आफ्नो ग्याल्मोलाई स्नेहले सुम्सुम्याउँदै सोनामले भन्छ, ‘अघिल्लो जुनिमा तिमी रानी थियाै‌ र म राजा । अहिले तिमी ग्याल्मो र म सोनाम ।’ खुसीको पे्रमिल सास फेर्दै केही छिनको शून्यताबीच फेरि ग्याल्मोले भन्छिन्, ‘खै ! यस्तो कुरा त म केही बुझ्दिन । गोहा लाउँदा लाउँदै, घट्ट जाँदाजाँदै, घाँस दाउरा गर्दागर्दै, कसरी पो तिमीसँग नजिक भएछु ।’

 

शिल्पी थिएटरमा मञ्चन भएको नाटक ‘सोनाम ग्याल्मो’ मा देखिएका यी प्रेमिल दृश्य । सोनाम उर्फ सोनाम लामा र ग्याल्मो उर्फ शान्ति वाइवाको यो अभिनयले दर्शकलाई फरक दुनियाँमा पु¥याएको थियो । भर्खरै विवाह भएको यी नवदम्पत्तीको जोडी निकै नै जमेको देखिन्छ  । घाँस, दाउरा जाँदा र वा पानी पँधेरो गर्दापनि सोनाम ग्याल्मोकै साथ लागेर जान्छ । ग्याल्मो साथमा नहुँदा मौका छोपी सोनामलाई उनका संगीहरूले जिस्काउँछन्, ‘ओइ सोनाम, तेरो ग्याल्मो खोइ ?’ग्याल्मो काँखमा पल्टिँदा, ग्याल्मोलाई काउकुती लगाउँदा, लुकी लुकी जिस्काउँदा र बाँसुरीमा प्रेमको लय सिर्जना गर्दा सोनामलाई हेर्ने प्रत्येकका आँखामा प्रेमका बाछिट्टा पर्छन् । 

एकदिन ग्याल्मो साथीहरूसँग घाँस, दाउराका लागि पत्थर घट्टास्थित जंगलमा जान्छिन् । ग्याल्मो जंगल जानु र  त्यतिनै बेला प्रधानमन्त्री जंगबहादुर राणा सिकार खेल्न आउनु संयोग हुन्छ । यो संयोगले नै कथालाई फरक मोडमा उभ्याउँछ  । ग्याल्मोको सुन्दरता र यौन आशक्तिका कारण जंगबहादुरले उनलाई जबर्जस्ती दरबार लिएर जान्छन् ।जंगबहादुरको मृत्युसम्बन्धी अनेकौं  किंवदन्तीहरू छन् । कसैले सेतो बाघले झम्टेको उल्लेख गरेका छन् भने कसैले अफिम सेवन गरेर मृत्यु भएको भनेका छन्  । उनकै छोरा पद्मजंग राणाले लेखेको पुस्तकमा जंगबहादुरको मृत्यु अचानक रगत छादेर भएको भन्ने उल्लेख छ । 

जंगबहादुरको मृत्युसम्बन्धी विभिन्न किंवदन्ती भएपनि तर मृत्यु भने रहस्यमयी नै छ । जारले काटेर जंगबहादुरको मृत्यु भन्ने कुरा तामाङ मिथकमा आधारित छ । यही मिथकमा आधारित नाटक ‘सोनाम ग्याल्मो’ मा सोनामले जंगबहादुरको हत्या गरेको देखाइएको छ । जब जंगबहादुरले सोनामलाई अपहरण गरेर लिएर जान्छ । त्यसपश्चात् उक्त पीडा सहन नसकेर अर्धचेत अवस्थामा रहेको सोनाम वृद्धको भेषमा जंगबहादुरलाई भेट्न पुग्छ र  सोध्छ, ‘जार काट्न मिल्ने कि नमिल्ने सरकार ?’ 
जारलाई काट्ने आदेश दिएपछि  जगंबहादुरलाई सोनामले काट्छ र, जंगबहादुरको यहीँ अन्त्य हुन्छ ।  

 

नाटककार फूलमान वलद्वारा रचित नाटक ‘सोनाम ग्याल्मो’  मञ्चनको बिहीबार अन्तिम दिन हो । शिल्पी थिएटरमा मञ्चन भइरहेको उक्त नाटकको निर्देशन सोनाम लामा (मोक्तान) ले गरेका हुन् भने निर्देशक स्वयं नै सोनामको भूमिकामा रहेका छन् । त्यसैगरी ग्याल्मोको भूमिकामा शान्ति वाइवा, ताम्बा र चोहोको भूमिकामा फूलकुमार बम्जन, ताम्बा र आबाको भूमिकामा शुसन लामा, बेहुली र आमाको भूमिकामा चाँदनी लामा, मायाको भूमिकामा निकिता वाइवा, बज्यै र मिच्याउको भूमिकामा निशा पाख्रिन, जंगबहादुरको भूमिकामा मात्रिका, पिङलेको भूमिकामा मनोज तामाङ, चोहोको भूमिकामा सन्तोष तामाङ, सिपाही र गाउँलेहरूको भूमिकामा सन्जीव राई, देविन चौधरी, विजय टुबा, सुनिल तामाङ, मयूरको भूमिकामा साजन लामा र बेहुलाको भूमिकामा विजय टुबालगायत कलाकारले सशक्त अभिनय गरेका छन् । 

जगंबहादुर फूलमान वल सोनाम ग्याल्मो

विशेष