नेपाललाई बन्दरगाह उपलब्ध गराउन चीन लचक
काठमाडौ । चीन नेपाललाई आवश्यकताअनुसारको बन्दरगाह (पोर्ट) उपलब्ध गराउन हदैसम्म लचक देखिएको छ।
दुई वर्षअघि नेपाल–चीनबीच हस्ताक्षर भएको पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिन चीनको राजधानी बेइजिङमा मंगलबार र बुधबार दुई देशका पदाधिकारीबीच सम्पन्न दोस्रो परामर्श बैठकमा चीनले उक्त लचकता प्रस्तुत गरेको हो ।
‘दुई–चारवटा बन्दरगाह मात्र होइन, नेपाललाई सहज, किफायती र प्रभावकारी हुने चीनका सबैजसो बन्दरगाह नेपाललाई खुला गर्न सकिने चिनियाँ पदाधिकारीले जानकारी दिनुभएको छ,’ परामर्श बैठकमा सहभागी बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले नागरिकसँग भने, ‘नेपालले आफूलाई सहज हुने चिनियाँ बन्दरगाह प्रयोग गर्दा चीनलाई कुनै आपत्ति नहुने उहाँहरुले बताउनुभएको छ ।’
२०७२ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्दा नेपाल र चीनबीच पारवहन यातायात सम्झौता भएको थियो । सम्झौता कायर्मन्वयनका लागि प्रोटोकल बनाउनुपर्ने भए पनि ओली सरकार ढलेपछि यसले गति लिन सकेको थिएन ।
यही असार पहिलो साता ओलीले प्रधानमन्त्रीका रुपमा दोस्रोपटक चीन भ्रमण गर्दा पारवहन यातायात सम्झौताको प्रोटोकललाई अघि बढाउने सहमति गरेका थिए ।
जसअनुसार मंगलबार र बुधबार परामर्श समितिको बैठक बसेको हो ।बैठकमा नेपालको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरेले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व यातायात मन्त्रालयका उपमन्त्री लिउ साओमिङले गरेका थिए ।
चीन बन्दरगाह