एएफयुमा अनिश्चितकालीन ताला
चितवन । निजी क्याम्पसलाई सम्बन्धन दिएको भन्दै विद्यार्थी संगठनहरूले कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) बन्द गरेका छन् । विश्वविद्यालयसँग आवद्ध विभिन्न चार विद्यार्थी संगठनले बुधबारदेखि संयुक्त रूपमा विश्वविद्यालय बन्द गराएका हुन् ।
विश्वविद्यालयका पदाधिकारीहरूले माफियाकरणलाई प्रश्रय दिँदै निजी कलेजलाई सम्बन्धन दिएको भनेर विद्यार्थी संगठनले विरोध गरेका छन् ।
विश्वविद्यालयमा रहेका विद्यार्थी संगठनहरू अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीले बुधबार तालाबन्दी गरेर विश्वविद्यालय बन्द गराएका हुन् । संगठनहरूले विश्वविद्यालयमा मंगलबार साँझ टायर बालेर विरोध प्रदर्शन गरेका थिए।
विश्वविद्यालयले २०७४ भदौ २ गते संयुक्त विद्यार्थी संगठनसँग सम्झौता गरेर निजी क्याम्पसलाई दिने सम्बन्धन स्थगन गरेको थियो । विश्वविद्यालयले सञ्चालन गरेको आंगिक क्याम्पसको अवस्था नाजुक हुँदाहुँदै निजी कलेजलाई सम्बन्ध दिँदा विश्वविद्यालय कृषि शिक्षाको व्यापार गर्ने पसल बनेको भन्दै विद्यार्थी संगठनले विरोध जनाएका हुन् । नागरिक दैनिकबाट ।
निजी क्याम्पस कृषि तथा वन विज्ञान विश्वविद्यालय