व्यवसायी संघ मुनाफा नबाँड्ने संस्थाको रुपमा कम्पनीमा दर्ता
मकवानपुर । देशकै सबैभन्दा ठुलो नारायणी यातायात व्यवसायी संघको नविकरण सरकारले नगर्ने भनेपछि सो संघ संस्थाको रुपमा दर्ता भएको छ । अन्तत मुनाफा नबाँड्ने संस्थाको रुपमा कम्पनीमा दर्ता भएको हो ।
कम्पनी रजिस्टार कार्यालयमा कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम नारायणी संघ हेटौँडा दर्ता गरिएको तत्कालिन नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताए ।
शुक्रबार संघको कार्यालयमा यातयात ब्यबसायीहरुको भेलामा आयोजित कार्यक्रममा संघमा आवद्ध २६ जनाको कार्य समिति नै सञ्चालक समिति रहने गरी संघ दर्ता गरिएको उनले बताए ।
नाफारहित संस्थाको रुपमा बिकास गर्ने र पहिलेको जस्तै सामाजिक संस्थाको रुपमा अगाडी बढाइने तत्कालिन संघका महासचिव सरोज खनालले बताए ।
एक अध्यक्षसहित २६ जना सञ्चालक सदस्य रहने र संघको वार्षिक साधारण सभाको निर्णयबाट नयाँ सञ्चालक समिति गठन गर्ने खनालले बताए ।
संघले यातायात व्यवसायीको विकास तथा प्रवर्द्धन गर्दै यातायात व्यवसायमा लागेका व्यवसायीहरु, व्यक्तिहरु, संस्थाहरु, कम्पनीहरुको सामुहिक हकहितको संरक्षण गर्ने मुख्य उद्देश्य रहेको तत्कालिन महासचिव खनालले बताए ।
सरकारले सिन्डिकेट हटाउन भन्दै सबै यातायात ब्यवसायी संघको नविकरण रोकेर कम्पनीमा दर्ता गर्नुपर्ने नीति लिएको थियो ।