News स्वास्थ्य देश

भयावह बन्दै लागूऔषध प्रयोग

भयावह बन्दै लागूऔषध प्रयोग

काठमाडौं । कलेज पढदै गरेको छोराले अस्वाभाविक गतिविधि गर्न थाले पनि यहाँका एक दम्पतीले सुरुमा उति वास्ता गरेनन् । तर अनेक थरी र अनौठो माग गर्ने, झर्कने र कहिलेकाहीँ अन्तै बस्न थालेपछि भने उनीहरू झस्किए ।

 

सोधखोज गरे । साथीकहाँ बसेको थिएँ भनेपछि अलि ढुक्क त भए । तर छोरो बिग्रन लागेको शंका लागेपछि निगरानी भने गर्न थाले । कलेजमा पनि अनुपस्थित हुने गरेको थाहा पाएपछि भने उनीहरू चकित भए । कारण पत्ता लगाए– लागूऔषधको दुव्र्यसन र गलत संगतले छोरोले बाटो बिराउँदै रहेछ । साथीहरूको लहैलहैमा उसले लागूऔषध सेवन गर्न थालेको निकै भइसकेको रहेछ ।

 

कति सम्झाइबुझाइ गर्दा पनि पार नलागेपछि जानकारको सल्लाहमा उनीहरूले छोरालाई सुधार केन्द्र राख्ने निधो गरेका छन् । ‘कसैगरी सही बाटामा ल्याउन सकिएन,’ ती दम्पतीले भने, ‘झन् बिग्रनुभन्दा सुधार केन्द्रमा राख्ने भएका छौं ।’

 

यो एउटा उदाहरण मात्रै हो । यस्ता कैयौं दम्पती छन् जसले आफ्ना सन्तानबाट वाक्क भएर सुधार केन्द्रमा राखिदिएका छन् । कतिपयले त सुधार्नै नसकेर वास्ता गर्न छाडेको उदाहरण पनि प्रहरीकहाँ प्रशस्तै छन् ।

 

सीमावर्ती भारतीय बजारबाट लागूऔषध ल्याएर बेच्ने, सेवन गर्ने अनि साथीभाइलाई पनि यसमा बानी लगाइदिने प्रवृत्ति विराटनगरमा मात्र होइन, पूर्वका मुख्य सहर र गाउँ बस्तीमा पनि फैलिएको छ । भारतीय बजारमा जाने, सेवन गर्ने अनि ल्याएर बिक्री गर्ने क्रम दिनहुँ बढिरहेको छ ।


‘टाइम बम अन्डर द सिटी’
लागूऔषध ओसारपसार र दुव्र्यसनको अवस्था कतिसम्म छ भने डेनमार्कका समाजशास्त्री खलिल अहमदले यसैमा गरेको अध्ययनपछि निष्कर्षमा भनेका थिए– टाइम बम अन्डर द सिटी ।

 

डेढ दशकअघि धरान आएका उनले लागूऔषध प्रयोगकर्ता युवायुवतीबीच अध्ययन गरेपछि तयार पारेको प्रतिवेदनमा उनले यस्तो उल्लेख गरेका थिए । उनले लागूऔषध ओसारपसार, सेवनमा लागेका खासगरी धरानको नयाँ पुस्ता र आसपास क्षेत्रमा स्थलगत अध्ययनपछि निष्कर्ष निकालेका थिए ।

 

धरानस्थित किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्रको परामर्शदाताका रूपमा सन् १९९९ मा अनुसन्धान गरेका अहमदले विकराल देखिएको लागूऔषध कारोबार र प्रयोगको अवस्था नियन्त्रण नगरिए पारिवारिक/सामाजिक विचलनसमेत बढने भन्दै ‘कुनै पनि बेला टाइम बमजस्तै विस्फोट हुन सक्ने’ प्रतिवेदनमा उल्लेख गरेका थिए । अवस्था हेर्दा उनले भनेको गलत लाग्दैन ।

 

समग्रमा प्रदेश १ का प्रमुख सहरमा लागूऔषध कारोबार र प्रयोग भयावह रूपमा बढिरहेको तथ्यहरूले पुष्टि गरेका छन् । यसले घरपरिवारमा विग्रह ल्याएको छ । अभिभावकलाई निराश बनाएको छ भने कतिपय अवस्थामा ज्यानै जानेसम्मका घटना भएका छन् ।

 

सुनसरी, मोरङ र झापाका सीमावर्ती भारतीय बजारबाट सहजै भित्र्याइने लागूपदार्थ पूर्वका धरान, दमक, विराटनगर, इटहरी, बेलबारी, पथरी मात्र होइन, पहाडी जिल्लाका बजारसम्म पुग्ने गरेको छ । सीमावर्ती बजारमा चिया पसलमा समेत यस्ता औषधि बिक्री हुने गरेको छ ।

विराटनगरको सीमावर्ती टिकुलिया बस्ती छिर्ने मोरङ सुगर मिल नजिक दिनहुँ मोटरसाइकल र चारचक्के साधनमा आएका युवायुवतीको भीड देखिन्छ । उनीहरू सीमापारि गएर लागूऔषध प्रयोग गर्ने र बोकेर फर्कने गरेको प्रहरीले जनाएको छ । कान्तिपुरबाट

लागूऔषध

विशेष