डा. केसीको जीवन रक्षाको माग
काठमाडौं । जुम्लामा अनशनरत प्राडा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरियो ।
राजनीतिक दलका नेता, विभिन्न पेसाकर्मी, चिकित्सक, विद्यार्थी र सर्वसाधारणले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याई डा. केसीको जीवनरक्षा गर्न माग गरेका हुन् ।
कार्यक्रममा चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न नसक्नुका कारणबारे स्पष्ट पार्न सरकारलाई आग्रह गरे ।
माथेमाले भने, ‘हामीले बुझाएको प्रतिवेदन प्रष्ट र सरल छ, हामीले त्यसमा चिकित्सा शिक्षाको गुणस्तर माथि हुनुपर्छ र काठमाडौंमा धेरै नै मेडिकल कलेज भयो भनेर भनेका हौँ, त्यो भन्नुको कारण दिएका छौँ ।’
उनले काठमाडौंमा धेरै भएकाले राजधानी बाहिर मेडिकल कलेज स्थापना गरी बाहिरका जनताको पहुँचमा शिक्षा र सेवा पु¥याउन सकिने आधारमा त्यस्तो सिफारिस गरिएको बताए ।
कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले माथेमा कार्यदलले बुझाएको प्रतिवेदनअनुसारको विधेयक आउनुपर्नेमा जोड दिए ।
“डा. केसी सत्यका लागि लड्ने जोगी हन्, उनले पनि विज्ञकै कुरा लागू गर भनेका हुन्”, उनले भने । विज्ञहरूले अध्ययन गरेर दिएको सुझावलाई बेवास्ता गरी सीमित व्यक्तिको स्वार्थ पूरा गर्न सरकार लागिपरेको थापाले आरोप लगाए ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सरकारसँग वार्ता गर्न डा. केसीका पक्षबाट वार्ता समिति तयार रहेको भन्दै डा. केसीलाई बलपूर्वक काठमाडौं ल्याउन नसक्ने टिप्पणी गरे ।
उनले सरकारमा बसेको व्यक्तिले आफ्नो हितमा कानुन बनाउन खोजे अपराध हुने भएकाले जनताको हितमा काम गर्न सरकारलाई आग्रह गरे । माथेमा प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयकको माग गर्दै डा. केसी जुम्लामा १५ दिनदेखि १५ औँ आमरण अनशनमा बसेका छन् ।