News अर्थ कर्पोरेट

नगरक्षेत्रका घरैपिच्छे एभोकाडो

नगरक्षेत्रका घरैपिच्छे एभोकाडो

धनकुटा  ।  धनकुटा–६ कचिडे खाल्डेस्थित शशिकला भट्टराई (पोखरेल) को पाखोबारी एभोकाडोका बिरुवाले हराभरा देखिन्छ। करिब ८ रोपनी जग्गामा एक सयभन्दा बढी एभोकाडोका बिरुवा हुर्किएका छन्।

 

जसमध्ये ४० बोटले भर्खंरै फल दिन थालेको छ। एभोकाडोको फल बिक्रीबाट गतसाल डेढ लाख रुपैयाँ आम्दानी गरेको भट्टराईले बताइन्। त्यस्तै धनकुटा–३ कागतेस्थित डा. दामोदार वाग्लेको ६ रोपनी बारीमा ५० भन्दा बढी एभोकाडोको बोट छ।

 

२० बोटले उत्पादन दिइरहेको छ भने ३० बोट हुर्किरहेका छन्। गत वर्ष एभोकाडो बिक्री गरेर दुई लाख रुपैयाँ आम्दानी गरेको उनले बताए।

 

भट्टराई र वाग्ले त उदाहरण मात्र हुन्। पछिल्लो समय उनीहरूजस्तै धेरै किसान एभोकाडो बिक्रीबाट मनग्गे आम्दानी लिइरहेका छन्। जिल्लाका प्राय क्षेत्रमा एभोकाडोको खेती हुन्छ।

 

यहाँका किसानले न्यूनतम एक लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्छन्। पछिल्लो समय किसानको घरमै पुगी व्यापारीले एभोकाडो खरिद गर्न थालेपछि जिल्लामा यसको खेती गर्ने लहर नै चलेको छ।

 

केही वर्ष अघिसम्म धनकुटामा घरमा खान तथा आफन्तलाई कोसेली लैजाने प्रयोजनका लागि मात्रै एभोकाडोको खेती हुन्थ्यो। केही परिणाम बिक्री हुन्थ्यो। तर व्यावसायिक खेती विस्तार भएको थिएन।

 

तर तीन वर्ष अघिदेखि यसको माग बढेको र किसानले पनि राम्रो मूल्य पाउन थालेपछि धनकुटामा एभोकाडो खेतीको व्यावसायिक विस्तार हुन थालेको छ।

 

अहिले धनकुटा नगरक्षेत्रमा एभोकाडोको बोट नभएका प्राय घर भेटिँदैनन्। प्राय सबै घरमा कम्तीमा १० बोट एभोकाडो देखिन्छ।

एभोकाडो

विशेष