देशको पश्चिमी भेगमा भारी वर्षा हुने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी भेगका केही स्थानमा आइतबार र सोमबार भारी वर्षा हुने जनाएको छ ।
महाशाखाले आइत, सोम र मंगलबारसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशको पश्चिमी तथा अन्य केही स्थानमा भारी वर्षा हुने अनुमान सार्वजनिक गरेको हो ।
शनिबार अपराह्न सामान्यतया बदली रही केही स्थानमा हल्का वा मध्यमखालको वर्षा र पश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ । त्यसैगरी राती पनि देशभर नै बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा कतिपय स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आइतबार दिउँसोको समयमा देशभरि नै बदली रहने तथा मध्य र पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको छ ।
असार ३२ गते देशभरि नै बदली रही देशको मध्य र पश्चिमी भूभागका साथै पूर्वी पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ भने पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार ओखलढुङ्गामा ४६, ताप्लेजुङमा २६, पोखरामा १२, जुम्लामा ११, धनकुटामा छ, डँडेल्धुरामा चार र दिपायलमा दुई मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा १.२ मिलिमिटर वर्षा भएको छ ।
आज काठमाडौंको अधिकतम तापक्रम ३०.५ र न्यूनतम ताफक्रम २०.८ डिग्री सेल्सियस रहेको छ । महाशाखाले मनसुन सक्रिय भएसँगै करिब दुई सातादेखि दैनिकजसो मनसुन पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आएको छ ।