पहाडी जिल्लामा बाढीको खतरा
काठमाडौं । देशका पहाडी जिल्लामा निरन्तर वर्षाका कारण बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सर्तकता अपनाउन सचेत गराएको छ ।
विभागको बाढी पूर्वानुमान महाशाखाले आइतबार विज्ञप्ति जारी गर्दै पहाडी जिल्लाबाट बग्ने नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेकाले नदी किनार र आसपासका बस्तीमा सजक रहन आग्रह गरेको हो ।
विशेषगरी दोलखा, रसुवा, धादिङ, गोरखा, सुर्खेत, रोल्पा, दार्चुलालगायत केही पहाडी जिल्लाका स–साना नदीमा बाढीको सम्भावना रहेको छ । कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली सबै मुख्य नदीमा बहावले सतर्कता पार गर्ने सम्भावना न्यून रहेको पनि बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
सोमबार कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली सबै नदी जलाधारमा बहावले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको छ ।
मंगलबार र बुधबार पनि कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबईमा बहाव सामान्य बढ्ने र कर्णाली तथा महाकाली जलाधारमा बहावले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको छ ।
आगामी तीन दिन देशैभर ठूलो बाढीको सम्भावना नदेखिए पनि आज आइतबार, सोमबार र मंगलबार पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना भएकाले नदीमा बहाव उच्च नै हुने हुँदा नदी तटीय क्षेत्रमा सतर्कता अपनाइराख्न शाखाले आग्रह गरेको छ ।
देशका विभिन्न भेगमा अझै तीन दिनसम्म हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमानबारे विज्ञप्ति जारी गर्दै पश्चिमी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो । देशभर बदली रही हल्कादेखि मध्यम खालको वर्षा र रातीको समयमा पनि बदली र वर्षा हुनेछ ।
पूर्वका पहाडी भेगका धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ, भने पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने महाशाखाले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार सबैभन्दा बढी लुम्लेमा २३१ र जिरीमा ८५ मिलिमिटर वर्षा भएको छ । ओखलढुंगामा ४०, ताप्लेजुङमा २६, डँडेल्धुरामा २५ र काठमाडौंमा १५ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौंको आजको अधिकतम तापक्रम ३१ र न्यूनतम तापक्रम २०.८ डिग्री सेल्सियस रहेको छ ।
बाढीको सम्भावना