News मुख्य समाचार प्रदेश ३

डा. केसीका मागप्रति गम्भीर हुन सभापति देउवाको आह्वान

डा. केसीका मागप्रति गम्भीर हुन सभापति देउवाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत् डा. गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् । 

सभापति देउवाले सोमबार एक विज्ञप्ति प्रकाशित गरी डा. केसीको स्वास्थ्यस्थिति थप बिग्रँदै गएको खबरले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै यसमा सरकार वार्तामार्फत समाधानका लागि गम्भीर नहुनुलाई झनै गम्भीर विषयका रूपमा आफूले लिएको बताए । 

 

सभापति देउवाले चिकित्सा शिक्षामा सुधारका लागि अनशनरत् डा. केसीसँग वार्ता गरी उनका माग सम्बोधन गर्दै उनको जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको स्मरण गराएका छन् । 

 

‘मेरो नेतृत्वमा रहेको अघिल्लो सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेशमार्फत जारी गरेको थियो । डा केसीसँगको वार्ता, सरोकारवालासँगको छलफल, उच्चस्तरीय माथेमा कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी त्यो अध्यादेशकै हुबहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेकसम्मत हल हुने मेरो दृढ निष्कर्ष छ’, विज्ञप्तिमा उल्लेख छ । 

 

शासन सञ्चालन क्रममा सरकारले विवेकको मार्ग अख्तियार नगर्दा त्यसले गम्भीर दुर्घटना निम्त्याउने उल्लेख गर्दै सभापति देउवाले डा. केसीको जीवनमा तलमाथि हुनसक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उब्जिएको बताए । 


डा. केसी चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १७ दिनदेखि जुम्लामा आमरण अनशनरत् छन् । उनको यो १५ औँ आमरण अनशन हो । 
 

शेरबहादुर देउवा नेपाली काँग्रेस

विशेष