News Breaking News मुख्य समाचार समाज राजनीति प्रदेश ३

नेताले अस्पताल चलाउँदा समस्या आयो : मन्त्री यादव

नेताले अस्पताल चलाउँदा समस्या आयो  : मन्त्री यादव

काठमाडौं । उपप्रधानमन्त्री उपेन्द्र यादवले राजनीतिज्ञले नै अस्पताल सञ्चालन गर्दा स्वास्थ्य क्षेत्रमा अनेक विकृति आएको बताएका छन् । 

 

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको ३६औं वार्षिकोत्सव तथा कलेजो प्रत्यारोपण सेवाको लागि निर्मित अत्याधुनिक कलेज प्रत्यारोपण सघन उपचार कक्षको उद्घाटनमा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत कार्यभार सम्हालेका यादवले नेताजीहरूले नै अस्पताल खोलेर चलाउन थालेपछि बेग्लै खालको अवस्था सिर्जना भएको छ, यसले चिकित्सा क्षेत्रमा एक खालेको प्रदूषण भित्रिन थालेको टिप्पणी गरे । 

 

उपप्रधानमन्त्री यादवले शिक्षण अस्पताललाई सेवा, सुविधा र उपकरणले सम्पन्न बनाई उदाहरणीय अस्पतालका रूपमा विकास गर्न स्वास्थ्य मन्त्रालयको साथ रहने बताए । 

 

समारोहमा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पताललाई स्तरोन्नति गर्न प्रशस्त स्रोत दिएर मात्र नहुने त्यसका लागि अस्पताल टिमको प्रतिबद्धता आवश्यक पर्ने उल्लेख गरे । 

 

उनले अस्पताल प्रशासन स्वयंले अग्रसरता नलिँदा मन्त्रालयबाट दिइएको बजेटको उपयोग हुन नसकेको टिप्पणी गर्दै भने, ‘धेरै मेडिकल कलेज खोल्नुभन्दा भएका सरकारी अस्पतालको गुणस्तर, उपकरण, विशेषज्ञ सेवा विस्तार, ग्रामीण जनतालाई उपचारमा पहुँच पु¥याउनेतर्फ सरकारको विचार पु¥याउनु आवश्यक छ ।’


शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दीपकप्रकाश महराले तीन वर्षदेखिको प्रयासपछि कलेजो प्रत्यारोपण सेवा सञ्चालनको अन्तिम तयारीमा पुगेको बताए । उनले पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाको कार्यकालमा कलेजो प्रत्यारोपणका लागि बजेट विनियोजित भएपछि भौतिक पूर्वाधार तयारीको अन्तिमचरणमा रहेको र आफ्नै जनशक्तिबाट नियमित प्रत्यारोपण सेवा उपलब्ध गराउने गरी कार्य थालनी गरिएको जानकारी दिए । 

 

भौतिक पूर्वाधार तयार गर्न स्वास्थ्य मन्त्रालयले अस्पताललाई रु ११ करोड विनियोजित गरेको थियो । उद्घाटित अत्याधुनिक सघन उपचार कक्षसहित कलेजो प्रत्यारोपणका लागि आवश्यक उपकरणका लागि आठ करोड खर्च भएको अस्पतालले जनाएको छ । 

 

कजेलो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीले सेवा सुरु गर्न कम्तीमा दुई महिना लाग्ने बताए । उनले भने, ‘सबै प्रक्रिया सकिएपनि सरकारले सञ्चालन गर्न लाइसेन्स दिनुपर्छ, त्यस लागि मन्त्रालयमा एक डेढवर्षदेखि प्रत्यारोपण समिति छैन, मन्त्रालयमा भनिरहेका छांै, स्वास्थ्यमन्त्रीले बनाएको भन्नुभएको छ ।’  

 

नेपालबाट हरेक वर्ष करिब चार सयबढी बिरामीलाई कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । बर्सेनि नेपालबाट भारतमा कलेजो प्रत्यारोपणका लागि ६० लाखसम्म बाहिरिने गरेको अनुमान छ । 

गगनकुमार थापा उपप्रधानमन्त्री उपेन्द्र यादव

विशेष