कांग्रेस ओली सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रने
साउन १५ मा मुलुकभर र ३, ५ र ८ गते माइतीघर मण्डलामा विरोध प्रदर्शन आयोजना
काठमाडौं । पाँच ‘स’ को माध्यमबाट जनजीवनका समस्या मुखरित गर्ने संकल्प लिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक विषयमा सरकारविरुद्ध सडक आन्दोलन गर्ने घोषणा गरेको छ ।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार आगामी साउन १५ गते ७७ जिल्लाको सदरमुकाममा केन्द्र तथा प्रदेश सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
विज्ञप्तिमा नेकपा सम्बद्ध केन्द्र तथा प्रदेश सरकारले ‘अधिनायकवादी’ चरित्र देखाउन थालेकाले त्यसविरुद्ध जन प्रदर्शनमा उत्रन मातहतका आफ्ना सम्पूर्ण संगठनहरूलाई निर्देशन दिइएको छ । कांग्रेसले प्रतिपक्षी दलको नाताले पाँच ‘स’ अर्थात् सदन, सडक, सञ्चारमाध्यम, सामाजिक सञ्जालबाट सरकारविरुद्ध आन्दोलनमा उत्रने निर्णय यसअघि नै गरिसकेको छ ।
महामन्त्री डा. कोइरालाले विज्ञप्तिमा केन्द्र र प्रदेश सरकारहरूले संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्मअनुसार अगाडि बढ्नुको सट्टा कानुनी शासनको खिल्ली उडाएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा संघीय संसद् र प्रदेशसभाका सभामुख र उपसभामुख अलग–अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको ठाडो उल्लघंन गरेको, संघीय व्यवस्थाको भावनाविपरीत अधिकारहरूको केन्द्रीकरण गरेको, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रूपमा प्रस्तुत भएको उल्लेख गरिएको छ ।
‘संवैधानिक निकायलाई कार्यकारीको छायाँमा राख्ने, सरकार र पार्टी एकै जस्तो गरेर सञ्चालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरूलाई व्यवसायिक रूपमा सञ्चालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिबद्धताका आधारमा चलाउने प्रवृत्ति स्पष्ट रूपमा प्रकट भएका छन्’ महामन्त्री कोइरालाको विज्ञप्तिमा जनाइएको छ ।
सभापति देउवा प्रधानमन्त्री भएको बेला संविधानसम्मत तरिकाबाट गरिएका नियुक्तिहरू गैरकानुनी तरिकाबाट खारेज गरिएको, सत्तरी वर्षबाट घटाई ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय र मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटु रोगका गम्भीर बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय कार्यान्वयन नगरेकोमा पनि विज्ञप्तिमार्फत कांग्रेसले विरोध जनाएको छ ।
कांग्रेसले डा. गोविन्द केसीको अनशनका समबन्धमा देउवा सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश हुबहु विधेयकका रूपमा संसद्मा प्रस्तुत गर्नुपर्ने माग गरेको छ ।
यसैगरी पार्टीका उपसभापति विमलेन्द्र निधीको अध्यक्षतामा बसेको कांग्रेसको एक अर्को बैठकले सरकारविरुद्ध थप कार्यक्रमको घोषणा गरेको छ ।
कार्यक्रमअनुसार साउन ३ गते प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाइमा अपराह्न १ बजे माइतीघर मण्डलाबाट विरोध प्रदर्शन गरिने छ ।
यस्तै साउन ५ गते नेपाल तरुण दलको अगुवाइमा अपराह्न १ बजे माइतीघर मण्डलामा प्रदर्शन र साउन ८ गते कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौं, ललितपुर र भक्तपुरको अगुवाइमा अपराह्न १ बजे माइतीघर मण्डलामै विरोध प्रदर्शन गरिने भएको छ ।
कांग्रेस ओली सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रने