कांग्रेसद्वारा प्रहरी हस्तक्षेपको विरोध
काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको नेतृत्वमा भएको प्रदर्शनमा गरिएको प्रहरी हस्तक्षेपको भत्र्सना गरेको छ ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा संविधानले प्रदत्त गरेको शान्तिपूर्ण भेला हुन र प्रदर्शन गर्न पाउने अधिकारमाथिको यो हस्तक्षेपले सरकारको अधिनायकवाद उन्मुख चरित्रलाई पुनः एकपटक उजागर गरेको उल्लेख गरिएको छ ।
नेवि संघले डा. गोविन्द केसीको आमरण अनशनप्रति समर्थन गर्दै राजधानीस्थित माइतीघर मण्डलामा मंगलबार मध्याह्न सरकारको उपेक्षित कदमको विरोध गर्दै गर्दा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको थियो । लाठी प्रहारबाट दर्जनौं विद्यार्थी घाइते भएका थिए ।
विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीको जीवन जोखिममा पर्दै गएको छ र मागको सुनुवाइ नगरेर सरकार अर्कातर्फ संवेदना शून्य देखिएको छ । तत्काल वार्ता गर्ने, माग पूरा गर्ने र डा. केसीको जीवन रक्षा गर्ने सन्दर्भमा देशव्यापी रूपमा आन्दोलनको भावना बढिरहेको बेला त्यसलाई नजरअन्दाज गरेर सरकार भने रोम जल्दा निरोले बाँसुरी बजाएको मुद्रामा देखिएको छ । अतः तत्कालै यो चरित्रलाई सुधार गर्नेतर्फ सरकार गम्भीर बनोस्, नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ ।’