News Breaking News

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झनै जटिल

उपचारमा संलग्न चिकित्सकहरू चिन्तित

डा.  गोविन्द केसीको स्वास्थ्य अवस्था झनै जटिल

काठमाडौं । मुलुकको समग्र चिकित्सा क्षेत्रको सुधारका लागि १८ दिनदेखि आमरण अनशनमा बसेका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको छ । 


जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. केसी मंगलबार साँझसम्म ‘हाइपोक्यालेमिया’ बाट ग्रसित भएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 


चिकित्सा शास्त्रमा रगतमा पोटासियमको मात्रा कम हुनेलाई हाइपोक्यालेमिया भनिन्छ । रगतमा पाइने पोटासियम इलेक्ट्रोलाइटले नसा र मांसपेसीको कोशलाई सक्रिय बनाउन मद्दत गर्दछ । विशेष गरेर यसले मुटुको मांसपेसीको कोश सञ्चालन गर्दछ ।
डा. केसीलाई सोमबारदेखि हाइपोक्यालेमियाले सताएको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ ।   


मानव शरीरमा मिर्गौलाले पोटासियमको श्रेणीलाई ठीक ठाउँमा राख्दछ । रगतमा  पोटासियमको मात्रा तलमाथि भएमा श्वासप्रश्वास, मुटु र मिर्गौलामा समेत गम्भीर असर पर्न सक्छ ।


हाइपोक्यालेमियाले मानव शरीरको मांसपेसी कमजोर पार्ने, शरीर गल्ने र हातखुट्टा लुलो गराउने गर्दछ । 


डा. केसीमा उपरोक्त लक्षण देखिँदै आएको बताइन्छ । डा. केसी आफ्ना माग पूरा नहुन्जेल समष्टिमा स्वास्थ्य परीक्षण र एन्टिबायोटिक्स औषधि ग्रहण नगर्ने पूर्ववत् अडानमा रहेका छन् । 


केही दिनदेखि डा. केसीको स्वास्थ्यस्थितिलाई ध्यानमा राखेर अस्पतालमा भेन्टिलेटर र अन्य आवश्यक जीवन रक्षक औषधि तयारी अवस्थामा राखिएको छ ।
डा. केसीको उपचारमा संलग्न डा. धिरज गुरुङले मंगलबार अपराह्न जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा.केसीको मुटुको चालमा विगतमा पनि गडबडी देखिएकाले जुनसुकै अवस्थामा पनि धडकन बन्द हुनसक्ने अवस्था देखिएको छ ।’


डा. केसीको स्वास्थ्यस्थिति बिग्रँदै जाँदा पनि सरकार भने सचेत नभई राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकारी संयन्त्र राजनीतिक प्रचारबाजीमा व्यस्त देखिएको छ ।  


 

प्राडा गोविन्द केसी

विशेष