News मुख्य समाचार

अाज देशभरका स्वास्थ्य संस्थामा सेवा ठप्प हुने

नेपाल चिकित्सक संघ सरकारी वेवास्ताविरुद्ध उत्र्यो आन्दोलनमा 

अाज देशभरका स्वास्थ्य संस्थामा सेवा ठप्प हुने
काठमाडौं । नेपाल चिकित्सक संघ बिहीबारदेखि देशभरका सबै अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने आफ्नो निर्णयमा अडिग रहेको छ ।

संघद्वारा बुधबार अपराह्न राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसअघि डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै सरकारलाई माग पूरा गर्न संघले ४८ घन्टाको समय दिएको स्मरण गराइएको थियो ।

पत्रकार सम्मेलनमा संघका महासचिव डा लोचन कार्कीले सरकारले डा. केसीको माग पूरा नगरेपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको बताए । 
 
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिको पूर्ण पाठ
‘यस पत्रकार सम्मेलन कार्यक्रममा यहाँहरू सबैमा मलगायत नेपाल चिकित्सक संघ कार्य कारिणी समितिको तर्फबाट हार्दिक स्वागत गर्दछु ।’
आदरणीय पत्रकार साथीहरू,
‘सर्वप्रथम नेपाल सरकारको तर्फबाट ढिलैगरी भएपनि वार्ताटोली बनाउने निर्णयको नेपाल चिकित्सक संघ स्वागत गर्दछौं । यति हुँदाहँुदै पनि पत्रकार मित्रहरू हामी अत्यन्तै विषम परिस्थितिमा रहेर यो पत्रकार सम्मेलनका लागि उपस्थित भएका छाँै । असार १६ गतेदेखि जुम्लामा अत्यन्त जोखिमका साथ अनशनमा बस्नु भएका यस संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी.को जीवन रक्षाका निम्ति सम्माननीय प्रधानमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्रीलगायत राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई पार्टी कार्यालय तथा घरदैलोमा पुगेर जीवन रक्षाको निम्ती अपिल गर्दा समेत डा. केसीको जीवनरक्षाका लागि सरकारको तर्फबाट कुनै पनि जिम्मेवारी बोध नगरिएको नेपाल चिकित्सक संघको ठहर छ ।’
‘त्यतिमात्र होइन, सरकारको तर्फबाट गठित भएको वार्ता टोलीलाईसमेत नेपाल सरकारले पूर्ण अधिकार नै नदिई केबल डा. गोविन्द के.सी.लाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थिति सिर्जना गर्न मात्र वार्तामा उपस्थित भएको हो कि भन्ने शंका हामीलाई पैदा भएको छ । अन्यथा यति गम्भीर परिस्थितिमा जुन खालको तदारुकता सरकारले देखाउनुपर्ने हो त्यो देखिएको छैन । संविधानले नै स्वास्थ्य र शिक्षालाई मौलिक हकका रूपमा समावेश गरेको छ । त्यसै अनुरूप नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य र शिक्षामा सहज पहुँच पु-याउनु पर्नेमा सरकार नागरिकको आवाजलाई दबाउन खोज्ने, राज्यको तर्फबाट अफवाह फैलाउने जस्तो अशोभनीय कार्यप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ ।’
‘हामीले बारबार भेट र विज्ञाप्तिमार्फत भनेकै थियौँ, राज्यले डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि अब पनि संवेदनशीलता प्रकट नगर्ने हो भने देशभर भयावह स्थितिको सिर्जना हुन सक्छ । एकातिर स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, विसंगतिहरूलाई सरकारले नरोक्ने, अर्कोतिर सरकारले गर्नुपर्ने कामलाई समेत पन्छिने प्रवृत्तिले हामीलाई दुःखी बनाएको छ । सरकारले नै बनाएका विज्ञ टोलीले दिएको सुझावअनुसार चिकित्सा शिक्षा र स्वास्थ्यसेवालाई कार्यान्वयन गर्ने वातावरण तयार गर भन्दा समेत डा. गोविन्द के.सी. ले जीवन त्याग्नुपर्ने परिस्थिति सिर्जना भयो भने त्यो भन्दा दुर्भाग्य अरू हुन सक्दैन । त्यसका लागि नेपाल चिकित्सक संघ जस्तोसुकै परिस्थितिको सामना गर्न पछि नहटने व्यहोरासमेत यहाँहरूमार्फत नेपाल सरकारलाई जानकारी गराउन चाहन्छौं ।’
‘सरकारले संवेदनशीलता अपनाउँदै हालको विवादास्पद विधेयकलाई अविलम्ब फिर्ता लिई पुरानै अध्यादेशलाई संसद्मा दर्ता गराउने कार्य गरी डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि सार्थक वार्ता गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ ।’
‘आज आमरण अनशनको १९ औं दिनसम्म पनि नेपाल सरकारले गम्भीरता प्रदर्शन नगर्नु, डा. के.सी.ले उठाएका जायज मागहरूका सम्बन्धमा कुनै पनि ठोस कदम अगाडि नबढाउनु, चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारण नागरिकहरूले देशभर देखाएको ऐक्यवद्धता, धैर्यता र शान्तिपूर्ण आवाजलाई सम्बोधन नगर्नु जस्ता गम्भीर प्रकारका गतिविधिले नेपाल चिकित्सक संघ डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि मिति २०७५ साउन ३ गते बिहीबार देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिकलगायत सम्पूूर्ण स्वास्थ्यसंस्थाहरूमा आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवाहरू बन्द गर्ने एवं माइतीघर मण्डलामा दिउँसो १२ बजे भेला हुने निर्णय भएकाले सोअनुुसार गर्नू गराउन हुन नेपाल चिकित्सक संघका सम्पूूर्ण शाखाहरू एवं देशभरका सम्पूूर्ण स्वास्थ्य संस्था, चिकित्सकहरू, स्वास्थ्यकर्मीहरू एवं स्वास्थ्यसंस्था आबद्ध कर्मचारीहरूमा यसै पत्रकार सम्मेलनमार्फत हार्दिक अपिल गर्दछौं । यो एक दिने बन्दमार्फत् देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको आवाज सरकारसम्म पु¥याउन र सरकारलाई संवेदशील हुन सहयोग पुग्ने छ भन्ने विश्वास लिएका छौँ । तर, यति हुँदा पनि सरकार संवेदनशील नभए संघ देशभर आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालसम्म बन्द गर्न बाध्य हुने जानकारी यसै पत्रकार सम्मेलनमार्फत जानकारी गराउँछौं ।’
हाम्रो यस आन्दोलनको कार्यक्रमबाट देशभरका स्वास्थ्य संस्थामा हुन सक्ने कुनै पनि घटनाका सम्बन्धमा नेपाल सरकार नै पूर्ण जिम्मेवार हुने भएको हुँदा सम्पूर्ण स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थामा घट्न सक्ने संभावित घटनाहरुको कुनै पनि जिम्मेवारी नलिन समेत सूचित गरिन्छ । देशभरका सम्पूूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने परिस्थितिको सिर्जना नेपाल सरकारले नै गराएकोले यसबाट आम सर्व साधारणहरुमा पर्न जाने असुुविधाप्रति नेपाल चिकित्सक संघ गहिरो दुुःख व्यक्त गर्दछ ।
डा. लोचन कार्की
महासचिव

नेपाल चिकित्सक संघ

विशेष