पत्रकार दाहाल कार्यकारी निर्देशकमा नियुक्त
काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाललाई पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ ।
कांग्रेसले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली २०६८ को परिच्छेद ४, नियम २७ र २८ बमोजिम गठित केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा ओखलढुंगाका पुरुषोत्तम दाहाललाई कांग्रेसको नियमावली २०६८ को नियम २७(३) बमोजिम नियुक्त गरेको जनाएको छ ।
विगत ४ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय दाहाल विगत ३४ वर्षदेखि प्राध्यापनमा समेत संलग्न छन् । पत्रकार दाहाल ०३१ सालदेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा संलग्न रही मानवअधिकारकर्मी तथा साहित्यिक क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वसमेत हुन् ।
दाहालले ०४१ देखि ०५६ सम्म कांग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य भएर कामसमेत गरिसकेका छन् ।
यसैगरी कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (२०५१, २०५४, २०५७, २०६२, २०६४, २०६६, २०६९ र २०७२ मा संशोधन र परिमार्जन गरी मिलाइएको रूपमा) को धारा ४९ (७) तथा कांग्रेस नियमावली २०६८ को नियम ४९ (२) बमोजिम केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा रमा कोइराला पौडेल (सुनसरी) लाई मनोनयन गरेको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।