पहिरोबाट पर्वत र बागलुङमा धनजनको क्षति
पर्वत । पहिरोका कारण पर्वत र बागलुङ जिल्लामा व्यापक क्षति पुगेको छ । पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा पहिरोबाट एक किशोर बेपत्ता भएका छन् ।
गए राती १ बजेको समयमा स्थानीय बमबहादुर परियारको ढुंगा माटोले बनेको टिनले छाएको एकतले कच्ची घरको माथिबाट आएको पहिरोले घर बगाउँदा परियारका १६ वर्षीय छोरा विकास परियार बेपत्ता भएका हुन् । उनी पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
अविरल वर्षाकै कारण उक्त गाउँका १५ घरसमेत पूर्ण जोखिममा परेका छन् । पहिरोबाट जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । वर्षाकै कारण जलजला गाउँपालिका–७, धाइरिङ, बास्कोट बस्ने भीमलाल आचार्यको घर पहिरोको कारण भत्किएको छ ।
घर भत्किँदा राती सुतिरहेका ६ जना घाइते भएका छन् । घाइतेको ढाड भाँचिएको, टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ । ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले सुरक्षा निकाय घटनास्थलसम्म पुग्न सकेको छैन ।
बेनी—मालढुंगा सडक अवरुद्ध
यसैबीच, कुश्मा नगरपालिका–१ पाङस्थित मालढुंगादेखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक गएरातिदेखि अवरुद्ध भएको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण जलजला गाउँपालिका–८, लस्तीमा रहेका सांरगी, लस्ती, जुके र डम्डारे खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको हो । पहिरोका कारण नजिकै रहेका दुई घरमा समेत क्षति पुगेको छ ।
त्यस्तै, सडकमा गुडिरहेको ध १ ज ५४२ नम्बरको एक ट्याक्सी बाढीले बगाएर कालीगण्डकी नदीमा पु¥याएको छ । ट्याक्सीमा सवार यात्रु भने सकुशल रहेको ट्राफिक प्रहरी कार्यालयका सुदीप सापकोटाले जानकारी दिए । यसैगरी गए रातीको अविरल वर्षापछि आएको भल–बाढीले बागलुङ ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा क्षति पु-याएको छ ।
स्थानीय ठाडो खोलाले बाढीको रूप लिएपछि बजारका घर, भवन र सडकमा क्षति पुगेको हो । पसल, फर्निचर, मिल, रेस्टुराँ रहेका १५ वटा अस्थायी टहरामा बाढी पसेको प्रहरीले जनाएको छ । केही टहरा पूर्णरूपमा क्षतिग्रस्त भएको र अन्यमा पसल तथा घरभित्रका सामान पुरिएका छन् ।
चार पक्की घरमा आंशिक क्षति पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए ।
भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । बुर्तिबाङदेखि भब्रेटा जाने मोटरबाटो खन्ने क्रममा थुप्रिएको ढुंगा, माटो ठाडो खोलाले बगाउँदा बाढीको रूप लिएको हो ।