News Breaking News मुख्य समाचार

डा. गोविन्द केसी र भावनात्मक चीरहरण

डा. गोविन्द केसी र भावनात्मक चीरहरण

नेपाल आज समाचार टिप्पणी

काठमाडौं । जुम्लामा अनशरत डा. गोविन्द केसीलाई सरकारले भावनात्मक रूपमा झुक्याएर काठमाडौं ल्याउन सफल भएको छ । 
शिक्षा सचिव खगराज बरालको नेतृत्वमा बिहीबार गएको टोलीले जुम्लामा लाख कोसिस गरेतापनि डा. केसीलाई जुम्लाका वासिन्दाले काठमाडौं पठाउन नमान्दा केन्द्र सरकारको व्यूह रचनामा स्थानीय प्रशासनले आखिरमा एक प्रहरी जवानको झडपमा मृत्यु भएको खबर डा. केसीलाई सुनाएपछि उनले आँखाबाट आँशु झारेर भनेका थिए, ‘मेरो कारणले कोही पनि नमरुन्, बरु म आफैँ काठमाडौं जान तयार छुँ ।’

 

डा. केसीको उक्त अभिव्यक्ति नै प्रहरी प्रशासनलाई उनलाई काठमाडौं ल्याउने अचूक शस्त्र साबित हुनपुग्यो । डा. केसीको मागलाई लिएर राजनीति गर्न हुँदैन भन्ने अभिमत नेकपाभित्र वलिष्ठ हुँदाहुँदै सोही पार्टीको सरकारले झूटको सहारा किन लिन पुग्यो भन्ने बिहीबार साँझसम्म नेकपाभित्र चर्को बहसको विषय भएको छ । 


सत्तारूढ दलभित्र राजनीतिमा साम, दाम, दण्ड र भेदको नीति प्रयोग गर्नुपर्छ भन्ने साम्यवादी स्कुलका विलक्षण प्रतिभाशाली व्यक्तित्वको भीड लागेको पार्टीमा डा. केसीप्रति सरकारले उक्त ‘भावनात्मक चीरहरण’ किन ग¥यो भन्ने बिहीबार सन्ध्याको विश्लेषण रह्यो ।

 

मानवीय संवेदनाका पक्षपाती डा. केसीजस्तो सत्याग्रहीलाई केही क्षण झुक्याएर उनलाई काठमाडौं ल्याउन सरकार सफल भए पनि सरकारले त्यो सफलतालाई ‘लंका फत्तेह’ सम्झेपनि सरकारको छद्म कदम आगामी दिनमा प्रत्युत्पादक भई के कस्तो परिणाम ल्याउने हो भन्ने दूरगामी विश्लेषण नगरिकन तत्काल जुम्लाको तनाव काठमाडौंमा सार्न सकियो भन्ने सन्तोष भोलि गएर ‘कंगारुको अदालत’ मा परिणत हुन सक्ने विषयमा राज्य संयन्त्रमा तर मारेर बसेका सत्ताधारीहरूको समझमा पर्छ कि पर्दैन उनीहरू नै जानून ।

 

प्रहरीले गोली चलाउँदा प्रहरी जवान कमल उपाध्याय मारिएको समाचार आगो झैँ मुलुकभर फैलिएको थियो वा फैलाइएको थियो । यसको सिकार ‘मै हुँ’ भन्ने अनलाइन विद्युतीय पत्रिकाहरू सजिलैसँग भए ।

 

तर, सरकारले यो कुरा बुझ्न सकेन कि क्षण प्रतिक्षण समाचारको वास्तविकता र सत्यताको परख गरिरहेका अहिलेको विद्युतीय जमानामा केही घन्टा ती पत्रकारहरू झुक्किए वा झुक्याइए होलान् । तर, अन्ततोगत्वा ती पत्रकारहरूले सरकारी कुत्सित चालको पर्दाफास गरिहाले र सरकारी षड्यन्त्रलाई केही घन्टापछि नै उदांगो पारे । 

 

डा. केसीलाई झुक्याइएको रहेछ भन्ने वास्तविक स्थितिको उजागरपछि बजारमा सरकारको विश्वसनियताको सेयररूपी बजार नराम्रोसँग खस्किएको छ । ईश्वर गरुन प्रहरी जवान कमल उपाध्याय दीर्घजीवि होस् । गोविन्द केसी प्रकरणमा सरकारले बुझ्न नसकेको एउटामात्र पक्ष त्यो हो जुन डा. केसीलाई हल्काफुल्का रूपमा तौलने कोसिस गर्नु ।

 

वास्तवमा भन्ने हो भने, हिन्दी रजतपटको सलमान खानको संवाद ‘एकपटक मैले प्रतिबद्धता जनाए भने पछि गएर म स्वयं अन्तकरणको समेत आवाज सुन्दिनँ’ हो आम चिकित्सक जगत्ले बुझेको डा. केसी त्यही नै हो ।

 

तर, सरकारले डा. केसीको मनोभावना बुझ्नै चाहेन । फेरि पनि सरकार ०४८ को आम निर्वाचनको ‘चार तोला सुन र विशाल बजारको बसोबास’ रणनीतिको रचयिताहरूको झुण्ड रहेछ भन्ने प्रमाणित गर्नेतर्फ लाग्यो । 

 

सरकारको धोकाबाजी रणनीतिसँग परिचित नेपाल चिकित्सक संघले डा. केसीलाई झुक्याइएको रहेछ भन्ने चाल पाएपछि संघका एक पदाधिकारीले भने, ‘यसको राम्रो प्रतिक्रिया आउने छ, तर, उक्साहट वा उत्तेजना होइन ।’ 


बिहीबार साँझ नेपाली सेनाको हेलिकोप्टरबाट डा. केसीलाई राजधानीको टुँडिखेलमा अवतरण गराउन सफल सरकारले आगामी दिनमा डा. केसीसँग कस्तो व्यवहार प्रदर्शन गर्ला सूर्योदयको प्रतीक्षा भएको छ ।

 

डा. केसी काठमाडांै आए पनि उनको आमरण अनशन जारी छ, उनकै कर्मथलो त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा त्यो पनि डा. केसीका काबिल शिष्यका साथमा सरकारलाई पक्कै पनि हेक्का होला ।       
 

डा. गोविन्द केसी

विशेष