डा केसीलाई लिन हेलिकोप्टर पठाइयो
काठमाडौं । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा. गोविन्द केसीलाई राजधानी ल्याउन सरकारले बिहीबार बिहान हेलिकोप्टर पठाएको छ ।
डा. केसीको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौं ल्याउनु अत्यावश्यक भएकाले हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।
मन्त्रालयका सचिव खगराज बरालको टोली डा. केसीलाई लिन गएको छ । काठमाडौं ल्याएपछि केसीलाई तत्काल महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिनेछ । गएराति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ मन्त्रीसहितको बैठकले केसीको स्वास्थ्य खराब हुँदै गएकाले काठमाडौं ल्याउने निर्णय गरिएको मन्त्री पोखरेलले बताए ।
मन्त्री पोखरेलले चिकित्सा शिक्षा विधेयकबारे प्रतिनिधिसभाले प्रक्रियागतरूपमा निर्णय गर्ने बताए । बाँकी विषय चिकित्सा शिक्षा आयोगले टुंगो लगाउने उनको तर्क छ ।