News मुख्य समाचार

संसदमा सरकारविरुद्ध यसरी खनिए सांसदहरू

‘रेल आउँदै गर्दा चढ्दै गराैंला, लिपुलेकको एक चिम्टी माटो त्यति प्रिय छ’

संसदमा सरकारविरुद्ध यसरी खनिए सांसदहरू

काठमाडौं । सांसदहरूले सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले डा. गोविन्द केसीको अनसन र माइतीघर मण्डलामा प्रर्दशनमा रोक लगाउने सरकारी निर्णयलगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । साथै उनीहरूले आ-आफ्ना क्षेत्रका समस्याका बारेमा पनि सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराए ।

 

सांसद भरत कुमार शाह

शाहले जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई धरपकड गरेको घटनाप्रति घोर आपत्ति जनाए । डा. केसीलाई अध्याँरो कोठामा राखिएको भन्दै उनले प्रजातन्त्रलाई कुण्ठित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराए ।


माइतीघर मण्डलामा प्रर्दशनमा निषेध गरेर प्रजातन्त्रलाई अंकुश लगाई अधिनायकवादी प्रवृत्ति देखाउने काम बन्द गर्नसांसद बमले सरकारलाई सचेत गराए । यातायात क्षेत्रमा सिण्डिकेट अझै जारी रहेको भन्दै सांसद शाहले सरकारलाई भ्रामक सन्देश प्रवाह नगर्न आग्रह गरे ।

 

सांसद कल्याणी खड्का

खड्काले रौतहट सदरमुकाम गौरमा रहेको गौर राईस एण्ड फ्लोरलाई निजीकरण गर्ने प्रयास भइरहेको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए । गौर राईस मिलको अहिले ५ विघा १९ कठ्ठा १५ धुर जग्ग्गा निजीकरण गर्ने प्रयास भएकाले उच्चरस्तरीय आयोग गठन गरि भू–माफियालाई कारबाही गर्दै त्यो जग्गा सरकारको स्वमित्वमा ल्याउन माग गरे ।

 

सांसद भैरवबहादुर सिंह

सिंहले बझाङ जिल्लामा योङ कम्युनिष्ट लिगको नामबाट गाउपालिकाका प्रमुखहरुलाई धम्क्याउने, अपमानित गर्ने तथा अपहरण सम्मको धम्की दिने गरेको भन्दै तत्काल अराजक गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

 

सांसद प्रकाश रसाईली

रसाईलीले सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरे । उनले लिपुलेकका बारेमा सरकारले सदनलाई स्पष्ट जानकारी नदिएको भन्दै प्रधानमन्त्रीसँगको प्रश्नउत्तरको समय पुन व्यवस्था गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए । 

 

उनले विदेश नीतिमा सरकार असफल भइसकेको दाबी गरे । आफुहरू राजधानीका विभिन्न स्थानबाट १५ रुपैयाका पानी जहाज चढेर संसद भवन आउने गरेको भन्दै उनले रेल भन्दा प्यारो माटो भएकाले लिपुलेकका विषयमा सरकार स्पष्ट हुनुपर्ने र त्यसबारे सदनलाई यथार्थ जानकारी दिनुपर्ने माग गरे ।

 

उनले भने, ‘रेल आउँदै गर्दा चढ्दै गराैंला, तर लिपुलेकको एक चिम्टी माटो पनि त्यति प्रिय छ । प्रधानमन्त्रीले पाना फर्काउनुपर्ने ? प्रधानमन्त्रीले खिया लागेको कागज पाना टकटकाउनुपर्ने ? त्यो टकटकाएको कागज संसदमा जानकारी गराउनुपर्यो ।’

 

सांसद शान्तिमाया पाख्रिन

पाख्रिनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीयलाई दिने १० प्रतिशत शेयर आव्हानलाई एक महिनापछि सार्न माग गरिन् । 

 

मानो खाएर मुरी उब्जाउने खेतीको समय भएकाले शेयर आव्हान समयपछि सार्दै गाउँपालिका, नगरपालिकाका वडा कार्यालयबाट शेयर लिने र मुलुकबाहिर भएका जिल्लाबासीले अनलाईन आवेदन दिनसक्ने तथा विवाह भएर गईसकेका छोरीचेलीले पनि  शेयर राख्न पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

संसद लिपुलेक डा. गोविन्द केसी प्रकाश रसाईली भरत कुमार शाह कल्याणी खड्का शान्तिमाया पाख्रिन भैरवबहादुर सिंह

विशेष