प्रदेश ४ को स्थायी राजधानी बन्याे पोखरा
पोखरा । प्रदेश ४ काे स्थायी राजधानी पोखरा राख्ने निर्णय गरिएकाे छ। सोमबारको प्रदेशसभा बैठकले पोखरालार्इ स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पास गरेको हो ।
प्रदेशसभामा उपस्थित ५२ जनाले नै पोखरालाई राजधानी बनाउने प्रस्तावको पक्षमा मत दिएका छन् । सरकारले अस्थायी राजधानी पनि पोखरालाई नै तोकेको थियो । भोलि र पर्सि प्रदेशको नामबारे छलफल गर्ने कार्यसूची छ ।
नेकपामा सांसद राजीव पहारीले स्थायी राजधानी टुंगो लगाएपछि अब प्रदेशको नामको विषयमा मंगलबारदेखि छलफल हुने बताए । प्रदेशको नाम भने तोकिएको छैन । प्रदेशसभामा चार वटा नाम प्रस्ताव दर्ता भएका छन्। सांसदहरूले गण्डकी, तमुवान मगरात, गोरखा र अन्नपूर्णको नाम राख्न प्रस्ताव दर्ता गराएका छन्।
विभिन्न नाम प्रस्ताव भए पनि सर्वसम्मत रुपमा निर्णय गरिने सांसद पहारीले बताए। प्रदेश ४ स्थायी राजधानी तोक्ने दोस्रो प्रदेश बनेको छ। यसअघि प्रदेश नम्बर ६ ले स्थायी राजधानीको टुंगो लगाएको थियो ।