News प्रदेश १

हात्तीको आक्रमणबाट एकको मृत्‍यु

हात्तीको आक्रमणबाट एकको मृत्‍यु

मोरङ । मोरङको बेलबारी नगरपालिका १० लक्ष्मीमार्गमा जंगली हात्तीको आक्रमणबाट सोमबार विहान एक जनाको मृत्यु भएको छ। मोरङको जहदा गाउँपालिका ४ का ५५ वर्षीय रघु महतोको हात्तीको आक्रमणबाट मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बताए।

 

थापाका अनुसार पूर्वपश्चिम राजमार्ग किनारमै त्रिपाल टाँगेर बनाइएको टेन्ट भित्र सुतिरहेको अवस्थामा जंगलबाट निस्किएको हात्तीले विहान २ बजे आक्रमण गरेको र महतोको घटनास्थलमै मृत्यु भएको हो।

 

महतो लामो समयदेखि पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक मर्मत सम्भार र सरसफाईको काम गर्ने मजदुर भएको प्रहरीले जनाएको छ। महतोसँगै सुतेका अन्य दुई भने हात्ती आएको थाहा पाउन साथ भागेर ज्यान बचाउन सफल भएको डीएसपी थापाले बताए।

 

उनीहरुले सडक छेउमा त्रिपाल टाँगेर बनाएको टेन्ट पनि भत्काइदिनुका साथै त्यहाँ भित्र राखिएको खानेकुरा पनि हात्तीले खाइदिएको छ। घटनापछि हात्ती उत्तरतर्फको जंगलतिर लागेको छ। महतोको शव पोष्टमार्टमका लागि मोरङको उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगिएको छ

मृत्यु मोरङ हात्तीको आक्रमण

विशेष