मेक्सिकोले पायाे पहिलो पटक वामपन्थी राष्ट्रपति,
एजेन्सी । मेक्सिकोको राजनीतिमा ऐतिहासिक परिवर्तन भएको छ । आइतबार भएको राष्ट्रपतिको चुनावमा वामपन्थी नेता आन्द्रेस म्यानुएल लोपेज ओब्राडोर विजयी भएका छन् । जितपछि लोपेजले मेक्सिकोमा ठूलो परिवर्तन देखा पर्ने दाबी गरेका छन् ।
मेक्सिकोमा सन् १९२९ देखि प्रत्येक ६ वर्षमा राष्ट्रपतिको चुनाव हुँदै आएको छ । तर अहिलेसम्म प्रमुख दल नेसनल एक्सन पार्टी(पीएएन) तथा इन्स्टिट्यूसनल रेभोल्यूसनरी पार्टी (पीआरआई) ले सत्ता चलाइरहेको छ ।
सन् १९२९ देखि २००० सम्म पीआरआईका उम्मेदवार राष्ट्रपति निर्वाचित भए । सन् २००० देखि २०१२ सम्म पीएएनले सत्ता सम्हाल्यो । २०१२ को चुनावमा पुनः पीआरआईमा सत्तामा फिर्ता भयो ।
मेक्सिकोको राजनीतिमा दुई दलको यस्तो दबदबा भए पनि लोपेज यी दुवै दलसँग आवद्ध छैनन् । मेक्सिकन नागरिकले पहिलो पल्ट यी दुई दलभन्दा बाहिरका नेतालाई राष्ट्रपतिमा निर्वाचित गरेका छन् ।
मेक्सिको सिटीका पूर्व मेयरसमेत रहेका एम्लो नामले लोकप्रिय रहेका ६३ वर्षीय लोपेजले ५३ प्रतिशत मत प्राप्त गरेका छन् । उनले डिसेम्बर १ मा राष्ट्रपति पदको सपथ लिनेछन् । लोपेजले आफ्नो चुनावी अभियानमा भ्रष्टाचारलाई प्रमुख मुद्दा बनाएका थिए ।
यस्ताे भन्छन् लाेपेजका अालाेचक
लोपेजका विरोधी तथा आलोचकले उनको वामपन्थी नीतिका कारण पहिलेदेखि नै कमजोर रहेको मेक्सिकन अर्थव्यवस्था अझ जर्जर हुने बताएका थिए । कतिपयले त मेक्सिको अब भेनेजुएला जस्तो बन्ने समेत भनेका थिए ।
तर राष्ट्रपतिमा विजयी भएपछि लोपेजले भ्रष्टाचार निमूल पार्ने आफ्नो वाचा पूरा गरेरै छाड्ने बताएका छन् । भ्रष्टाचार गर्ने जोसुकैलाई नछाड्ने लोपेजले स्पष्ट पारेका छन् । गएको वर्षदेखि मेक्सिकोमा थुप्रै हिंसात्मक घटनाहरु घटेका छन् । यसमा धेरै लागुपदार्थको कारोबार गर्नेहरु रहेका छन् ।
लोपेजले चुनावी अभियानमा आफूले जितेमा यसबारेमा मन्त्रिपरिषदको बैठकमा दिनहुँ छलफल गर्ने र कडा कदम चाल्ने बताएका थिए । यस पटक चुनाव प्रचार–प्रसारकै क्रममा पनि मेक्सिकोमा हिंसात्मक घटना घटेका थिए । जसमा एक सय ३० भन्दा धेरै राजनीतिक उम्मेदवार तथा कार्यकर्ताको ज्यान गएको थियो ।
मेक्सिको राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज