होश गुमाएका हाम्रा मन्त्री महोदयहरू
काठमाडाैं । पछिल्लो समय कम्युनिस्ट सरकारका मन्त्रीहरू आफ्ना अभिव्यक्ति र आलोचित कामद्वारा विवादित पात्रका रूपमा देखा पर्दै आएका छन् । केही समयअघि सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिभिजनको एक अन्तर्वार्तामा सञ्चालक राजु थापाले दाइजोको कुरा निकाल्दा कार्यक्रम नै बन्द गरिदिएका थिए । त्यसैगरी संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि अघिल्लो पटक मन्त्री हुँदाको जुन लोकप्रियता कमाएका थिए, त्यसलाई कायम राख्न सकेनन् । केही अभिव्यक्ति र कामका असक्षमताका कारण उनी आलोचनाबाट मुक्त रहन सकेनन् । उसो त प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबेलाको असान्दर्भिक उखान टुक्का र अपत्यारिलो अभिव्यक्तिले लोककप्रियता गुमाउँदै गएका छन् ।
एकपछि अर्को घटना सेलाउन नपाउँदै फेरि कम्युनिस्ट सरकारका अर्का मन्त्री आलोचनाको भूँमरीमा फसेका छन् । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङ आफ्नो अभिव्यक्तिका कारण आलोचित हुन पुगेका छन् । मन्त्री तामाङ शुक्रबार एउटा स्कुलको कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रममा उनले बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने नेपाली छात्राबारे एउटा टिप्पणी गरेका थिए । ‘आज म मार्मिक कथा खोल्छु’ भन्दै उनले भनेका थिए, ‘हामी हाम्रा छोरीचेलीलाई पढ्नलाई विदेश पठाउँछौ । तर, उनीहरूले त्यहाँ आफूलाई नसुम्पिइकन सर्टिफिकेट पाउने अवस्था छैन ।’तामाङको यस्तो अभिव्यक्तिको विषयलाई लिएर विभिन्न टिका टिप्पणीहरू सुरु हुन थालेका छन् । यही विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाउँदै सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरे ।
झापाको बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसार्इंले पनि बंगलादेशमा पढ्ने महिला विद्यार्थीबारे यस्तै टिप्पणी गरेका थिए । केही समयअघि अस्पताल सञ्चालक प्रसाईंले बंगलादेश पढ्न जाने नेपाली छात्राहरूलाई प्राध्यापकहरूले यौन शोषण गरेर राखेको अभिव्यक्ति दिएका थिए । दुवैको टिप्पणीलाई आलोचना गर्दै उनले ट्विट गरे, ‘व्यवसायी दुर्गा प्रसाईंले बंगलादेशमा चिकित्सा शास्त्र अध्ययन गर्ने नेपाली महिला विद्यार्थीहरूका बारेमा गरेको सार्वजनिक टिप्पणी अन्त्यन्त आपत्तिजनक छ । यसको भत्र्सना गर्दै सार्वजनिक आत्मालोचनाको माग गर्दछु । साथै कानुनमन्त्रीको यस्तै टिप्पणी अत्यन्त दुःखद छ । सरकारको गम्भीर ध्यान जाओस ।’ श्रेष्ठको ट्विट सञ्चारमाध्यममा समाचारको विषय बनेपछि सामाजिक सञ्जालमा भाइरल भएर छायो । विभिन्न ठाउँबाट आलोचनाहरू भए ।
मन्त्री तामाङको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै नेपाली कांग्रेसले आइतबार विज्ञप्ति नै जारी ग¥यो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी यस्ता अभिव्यक्ति रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण नै गराए । कांग्रेसको विज्ञप्तिमा ‘छोरीचेलीलाई देवीका रूपमा मान्ने हाम्रो संस्कार स्मरण गराउँदै यस्ता अभिव्यक्तिलाई तत्कालै नियन्त्रणमा लिने दायित्व फेरि पनि प्रधानमन्त्रीकै रहेको विषय स्मरण गराउन चाहन्छौं’, उल्लेख छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मन्त्री तामाङको अभिव्यक्तिलाई निन्दा र भत्र्सना गर्दै प्रेस विज्ञप्ति नै जारी ग¥यो । कानुन मन्त्रीले अशिष्ट र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै यस्तो मन्त्रीलाई पदबाटै बर्खास्त गर्र्न प्रधानमन्त्री ओलीसँग माग राख्यो ।
चारैतिरबाट आलोचना आउन थालेपछि कानुन मन्त्रीले आइतबार विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिँदै भने, ‘मेरो उक्त दिनको भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्किएका छात्राहरूलाई पर्न गएको चोटप्रति क्षमा माग्न चाहन्छु । महिलाहरूको आत्मसम्मान, हिंसामुक्त समाज र महिला अस्मिताको रक्षामा मेरो सदैव प्रतिबद्धता र क्रियाशीलता रहिरहनेमा सबैलाई विश्वास दिलाउन चाहन्छु ।’ यद्यपि, उनको विज्ञप्तिले भने उनलाई केही सहज बनाएको छ । तर, आलोचना र भत्र्सना भने हुन छाडेको छैन ।
– नेपाल आजका लागि समर्पण श्री