विधेयक पारित नहुनुमा प्रतिपक्षी पार्टी जिम्मेवार : मन्त्री बस्नेत

काठमाडाैं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चिकित्सा शिक्षा विधेयक पारित नहुनुमा प्रतिपक्षी पार्टी जिम्मेवार रहेको बताएका छन् ।
४० औँ पुस्पलाल स्मृति दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी धनकुटाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विधेयक संसदमा पेश गर्न सरकार तयार रहेको तर विपक्षी पार्टीले डा. केसीलाई बोकेर राजनीति गर्न खोज्नाले बाधा उत्पन्न भएको दाबी गरे ।
बस्नेतले संवैधानिक व्यवस्थाअनुसार संसदमा विधेयक ल्याएर पारित गरिने भएकाले चिकित्सा शिक्षा मात्र होइन, समग्र शैक्षिक सुधार, आर्थिक सुधार एवं समाज परिवर्तनका निमित्त विभिन्न विधेयक पनि पारित हुने बताए । सरकारले विकास निर्माणका कार्यमा योजनावद्ध ढगंले अघि बढिरहेको हुँदा विपक्षी पार्टीले काममा बाधा पु¥याउन विभिन्न किसिमका रणनीतिहरू अपनाइरहको आरोप लगाए ।
बस्नेतले डा. गोविन्द केसीको मुद्दाभन्दा पनि अहिले बजेट कार्यान्वयन, कानून निर्माण र आर्थिक समृद्धि मुलुकको पहिलो आवश्यकता भएको हुनाले केसीले उठाएको मुद्वालाई सम्बोधन गर्न नसकेको बताए । मन्त्री बस्नेतले प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको विरुद्वमा गरेको केसी समर्थनको आन्दोलनलाई रोकी छलफलमा आएमा सरकार वार्ता गर्न तयार रहेको पनि दाबी गरे ।
शक्तिबहादुर बस्नेत वन तथा वातावरणमन्त्री