News समाज

वास्तविकताः यि शिशुको ज्यान टेम्पो चालकको कुरा पत्याउँदा गएकाे हो

वास्तविकताः यि शिशुको ज्यान टेम्पो चालकको कुरा पत्याउँदा गएकाे हो

काठमाडौं । डा. गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाएको नेपाल चिकित्सक संघको आन्दोलनका कारण लेटाङ–३ मोरङका ११ महिने यि शिशुको ज्यान गएको कुरा विवादास्पद पाइएको छ ।

 

साउन चार गते  ज्वराेले सिकिस्त भएका  यि शिशु काश्मिर लम्साललाई उनकी आमा चन्द्रकलाले उपचारका लागि विराटनगर लगेकी थिइन् । विराटनगरस्थित नोबेल मेडिकल कलेज आन्दोलनका कारण बन्द छ भन्ने खबर बाटोमा उनलाई टेम्पो चालकले दिए । मृतक शिशुका काका राम लम्साल भन्छन्, ‘काश्मिरलाई उपचारकालागि लैजाँदै गर्दा टेम्पो चालकले ‘अस्पताल बन्द छ’ भनिदिएछन् । अनि अस्पताल पुग्दै नपुगी कोसी अञ्चल अस्पताल लिएर जानु भएछ । कोसीमा पनि अस्पताल पस्दै नपसी अरुको कुरा सुनेर उहाँ अर्को चिकित्सक कहाँ पुग्नु भएको जानकारी छ ।’

 

लम्सालका अनुसार चन्द्रकला अस्पताल प्रवेश नै नगरी अर्का चिकित्सक डा. विनोद अग्रवालकहाँ शिशुलाई लिएर गइन् । तर डा. अग्रवालसँग उनको भेट भएन । विराटनगरका अन्य तमाम अस्पतालहरु/बालरोग विशेषज्ञहरुलाई छाडेर उनी विराटचौक पुगिन् ।

 

विराटचौकको सामुदायिक अस्पतालमा काश्मिरको परीक्षण भयो । परीक्षणका क्रममा त्यहाँका स्वास्थ्यकर्मीले औषधि दिए । लम्साल भन्छन्, ‘त्यहाँका स्वास्थ्यकर्मीले छातीमा इन्फेक्सन (निमोनिया) छ । अहिले ज्वरो छैन । निमोनियाको इन्जेक्सन लगाउनु पर्छ । अहिलेलाई यो औषधि लिएर जानु भनेछन् । औषधि लिएर काश्मिरकी आमा फर्किइन् ।’

 

साउन पाँच गते काश्मिरलाई अझै च्याप्यो । सामुदायिक अस्पतालले दिएको औषधिले काम गरेन । फेरि उपचारका लागि विराटनगरतर्फ लगियो । विराटनगर पुष्पलाल चौक पुग्दा ११ महिनाका काश्मिरले अन्तिम सास फेरे ।

 

डा. केसीको आन्दोलनका कारण विराटनगरमा बिरामीले उपचार नै नपाउने स्थिति उत्पन्न भएको हो त ? बिबिसी नेपाली सेवाका विराटनगर प्रतिनिधि बिक्रम निरौला भन्छन्, ‘त्यस्तो छैन । एक दिन कोसी अञ्चल अस्पतालको ओपिडी सेवा प्रभावित भएको हो । अन्य कुनै पनि अस्पतालमा बिरामीले उपचार नपाउने अवस्था छैन ।’

 

डा. गोविन्द केसीको आन्दोलनका कारण यि शिशुको मृत्यु भएको भन्दै अहिले सामाजिक सञ्जालका भित्ता रंगाउने काम जारी छ । मृतक शिशुका पिता दुर्गाप्रसाद लम्साल सामान्य कृषक हुन् । उनका काका राम लम्साल एक एनजीओमा काम गर्छन् ।

विशेष