News शेयर बैंकिङ मुख्य समाचार

साउन १ देखि अनलाइन कारोवार प्रणाली लागू

साउन १ देखि अनलाइन कारोवार प्रणाली लागू

काठमाडौं । स्टकले यही साउन १ गतेदेखि अनलाइन कारोवार प्रणाली लागू गरेको छ । त्यस्तो व्यवस्थाका लागि धितोपत्र दलाल व्यवसायीकहाँ गएर ‘युजरनेम’ र ‘पासवर्ड’ लिने प्रक्रिया जारी रहेको छ । 

 

अनलाइन कारोवार प्रणाली सञ्चालनमा आएपछि केही दिन अन्योलमा रहेका लगानीकर्तालाई सामान्य त्राण दिने गरी शेयर बजारमा सुधार आएको छ । 

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोवार मापक परिसूचक नेप्से ४.७७ बिन्दुले बढेर एक हजार १९९.२७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १.३६ बिन्दुले बढेर २५२.६८ बिन्दुमा पुगेको छ । 

 


मंगलबार कूल १६० कम्पनीको ११ लाख ८९ हजार ६८९ कित्ता शेयर रु २९ करोड ४१ लाख ८२ हजार ३४८ मूल्यमा खरीद बिक्री भएको छ । सोमबारको तुलनामा आज कारोवार रकममा वृद्धि भएको छ । सोमबार रु १८ करोड ६५ लाख २६ हजार ५३५ मूल्यमा खरीद बिक्री भएको थियो । 

 

स्टकका अनुसार दुई उपसमूहको शेयर कारोवार घटेको छ भने नौ उपसमूहको शेयर कारोवारमा बढोत्तरी भएको छ । बैंकिङ ५.२६, व्यापार ०.४२, होटल ४९.४२, विकास बैंक २.८५, जलविद्युत् ३.२४, वित्त २.५९, निर्जीवन बीमा १९.८९, अन्य २.२६, बीमा २०.६१ बिन्दुले बढ्दा उत्पादन १९.७४ र माइक्रोफाइनान्स समूह ०.७ बिन्दुले घटेको छ । 

 

भार्गवले बोनस शेयर दिने 

भार्गव विकास बैंकले आर्थिक वर्ष २०७३÷७४ सम्मको सञ्चित मुनाफाबाट रु दुई करोड ६४ लाखबराबरको बोनस शेयर तथा रु १३ लाख ८९ हजार ४७३ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो बैंकले रु ४७ करोड ५२ लाखको ५.५५ प्रतिशत बोनस शेयर दिन लागिएको जानकारी स्टकलाई गराएको छ । 

 

नेपाल राष्ट्र बैंकले सो बैंकलाई ‘ख’ वर्गको इजाजत दिएको छ भने बाँके, बर्दिया र दाङ जिल्लालाई कार्यक्षेत्र बनाएको छ । बैंकको यही साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले बोनस र नगद लाभांश दिने निर्णय गरेको हो । 

नेपाल स्टक एक्सचेञ्ज शेयर बजार अनलाइन कारोवार प्रणाली लागू ‘युजरनेम’ र ‘पासवर्ड’ लिने

विशेष