जुम्लाको घटनालाई गलत रूपमा प्रचार गरिए :मन्त्री पोखरेल
काठमाडाैं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जुम्लाको घटनालाई सञ्चारमाध्यमले गलत प्रचार गरेको भनी असन्तुष्टी पोखेका छन् ।
सप्तरी सुरुङ्गा नगरपालिकाले मंगलबार आयोजना गरेको शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले हुँदै नभएको घटनालाई सञ्चार माध्यमले प्रचारबाजी गरेको भन्दै असन्तुष्टी पोखेका हुन् । अनशनरत डा. केसीलाई जुम्लामा लिन गएको प्रदेश सरकारको टोलीलाई अवरोध गरेपछि सामान्य बलमात्र प्रयोग गरेपनि मिडियाले भने गोली चलेको, दमन गरेको जस्ता उत्तेजित शब्दको प्रयोग गरेर गलत प्रचार गरेको बताए ।
सरकारले चिकित्सा क्षेत्रसम्बन्धी केदारभक्त माथेमा प्रतिवेदनकै आधारमा विधेयक बनाई संसदमा पेश गरिसकेकको भन्दै पोखरेलले डा. केसी अनशन बस्नुको आवश्यकता नरहेको बताए । ‘माथेमा आयोगले दिएको प्रतिवेदनअनुसार बनाइएको चिकित्सा शिक्षा अध्यादेशमा थोरै परिमार्जन गरेर संसद्मा पेश गरेका छौँ,’ मन्त्री पोखरेलले भने, ‘यसमा केही सुधार गर्नुपर्ने भए डा केसीको सुझावलाई पनि समेट्न सरकार तयार छ, वार्ता र संवादबाट समस्याको हल खोज्दा उपयुक्त हुन्छ ।’
त्यसैगरी शिक्षा क्षेत्रमा सुधार गरी त्यसका गुणस्तर दिनको लागि सरकारले विभिन्न कदमहरू चाल्ने भन्दै प्रतिवद्वता व्यक्त गरे ।