अपहरणमा परेको एक बालकको शव फेला
काठमाडाै । एक महिनाअघि अपहरणमा परेको एक बालकको शव फेला परेको छ । जेठ २२ गते अपहरणमा परेका बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ का ललनप्रसा सहाका नौ वर्षिया छोरा अकिंतकुमारको सोमबार सडेगलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
भारत बिहारको सिकटा बलसरबाट पक्राउ परेका अजय पटेलको बयान तथा अपहृत अंकितजस्तै अनुहार भएको सोमबार एक बालकको शव सडेगलेको अवस्थामा भेटिएपछि उनको हत्या भएको पुष्टि भएको हो । अकिंतको शव पश्चिमी पर्साको जगरनाथपुर गाउँस्थित गण्डक नहरमा बोरामा राखिएको अवस्थामा फेला परेका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले बताए ।
वीरगञ्ज रानीघाट बस्ने रामप्रवेश साह पक्रउ परेपछि उनकै बयानका आधारमा शव गण्डक नदीबाट फेला पारिएको थियो । पक्राउ परेका अजय र रामप्रवेशमाथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने तयारी गरिरहेको प्रहरी स्रोतले जनाएको छ । अपहरणकारीले बालकका परिवारजनसँग भारतको बेतिया शहरमा १५ लाख भारतीय रुपैयाँ फिरौतीवापत बुझेको थियो । अपहृत बालकको आकार र बनोटका आधारमा शव पहिचान गरिए पनि डीएनए परीक्षण प्रतिवेदनपछि मात्र पूर्ण रुपमा शव यकिन गर्न सकिने प्रहरीको भनाइ छ ।
यता जीतपुरवासीले भने प्रहरीको फितलो अनुसन्धानका कारण बालक अंकित बाँच्न नसकेको आरोप लगाएका छन् ।