डा. केसी र सरकारबीचको वार्ता निष्कर्षविहीन
काठमाडाैं । केही समयपछिको लागि स्थगित भएको डा.गाेविन्द केसी र सरकारबीचको वार्ता पुनः सुरु भएपनि सफल भने हुन सकेन । शिक्षा मन्त्रालयमा भइरहेको वार्तामा बुँदाहरूमा सहमती मिल्न नसकेपछि १ घण्टाको लागि स्थगित भएको थियो ।
यसैबीचमा चिकित्सकहरूले अनशनरत केसीको अवस्था नाजुक भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेका थिए । तर सहमतिको लागि सरकारले प्रस्ट धारणा नराखेपछि वार्ता असफल भएको हो । वार्तामा सहमति नभएसम्म अनशन नतोड्ने डा. केसीको मनसाय रहेको छ ।
वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने थिए । यसैगरी, डा केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागी थिए ।
वार्तामा विधेयकबाट हटाइएका प्रमुख विषयहरु काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय श्ययाको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका २५ वटा विषयमा संशेधन गर्न डा केसीले सुझाएका छन् । वार्ता निष्कर्षमा पुग्न नसकेपछि कहिले बस्ने भनेर निश्चित भएको छैन ।
केसीपक्षले सरकारलाई उपलब्ध गराएको सूचीबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिवद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने स्रोतले बताएको छ ।