News प्रदेश ३

साना उद्यमीलाई २७ लाखको प्रविधि वितरण

साना उद्यमीलाई २७ लाखको प्रविधि वितरण

नगरकोट । भक्तपुरका ४६ जना घरेलु तथा साना उद्यमीलाई करीब रु २७ लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको छ । 

 

घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरले भक्तपुर घरेलु तथा साना उद्योग संघको सिफारिसमा उक्त प्रविधि हस्तान्तरण गरेको हो । उद्योग कार्यालयमा आइतबार आयोजित कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले साना उद्यमीलाई प्रविधि वितरण गरेका थिए । 



वितरत सामग्रीमा जुकी मेशिन १० थान, कम्प्रेसर छ थान, सिलाइ मेशिन चार थान, हस्कर, स्ट्रोनर र पोलिसर दुई÷दुई थान, पर्पलाइजर, अटो क्लेभ, एलिभेटर, आइरन, ड्रायर, हुड ड्रायरलगायतका उपकरण रहेका छन् । 

 

उपकरण पाउने साना उद्यमीमा चिउरा मिल, राईस मिल, ब्यूटीपार्लर, च्याउखेती, जुत्ता बनाउनेलगायतका छन् । सरकारको ८० प्रतिशत र साना उद्यमीको २० प्रतिशतको साझेदारीमा उक्त प्रविधि हस्तान्तरण गर्न साना उद्यमी छनोट समिति गठन गरिएको थियो ।

 

उद्यमी व्यवसायीको जानकारीको लागि सार्वजनिक सूचना जारी गरिएपछि प्राप्त आवेदनमध्ये प्रविधि हस्तान्तरण कार्यविधि पूरा गरेका साना उद्यमीलाई मात्रै प्रविधि हस्तान्तरण गरिएको उद्योग कार्यालय प्रमुख सीताराम खड्काले जानकारी दिए ।

 

प्रविधि पाएका उद्यमीले कम्तीमा पाँच वर्ष पाएको प्रविधि बेचबिखन गर्न तथा कसैलाई भाडामा लगाउन नपाइने सम्झौता गरिएको उद्योग कार्यालयका सूचना अधिकारी कमल निरौलाले बताए । कार्यक्रममा सांसद बस्नेतले आफूले पाएको प्रविधिको सही सदुपयोग गर्न उद्यमीलाई आग्रह समेत गरेका छन् । 



 

प्रविधि साना उद्यमी

विशेष