News विदेश

पाकिस्तानी निर्वाचन : मतदान केन्द्र बाहिर विस्फोट, ३५ को मृत्यु

पाकिस्तानी निर्वाचन : मतदान केन्द्र बाहिर विस्फोट, ३५ को मृत्यु

इस्लामावाद ।  हिंसात्मक घटनाहरूका बीच बुधवार पाकिस्तानमा भएको संसदीय निर्वाचनमा मतदान भएको छ ।

 

नयाँ संसद् र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभर भएका विभिन्न हिंसात्मक घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । बलुचिस्तानको राजधानी क्वेटामा बुधवार शक्तिशाली आत्मघाती आक्रमण भएको थियो ।

 

उक्त आक्रमणमा मात्रै ३१ जना मारिएका छन् । ज्यान गुमाउने ३१ जनामा ३ प्रहरी र २ जना बालक पनि छन् । विस्फोट मतदान केन्द्रका बाहिर भएको थियो । सुरक्षाकर्मीले घटनास्थलबाट विस्फोट नभएको एक ग्रिनेड पनि नियन्त्रणमा लिएका छन् । आक्रमणकारी मतदान केन्द्रमा छिर्न खोजेको प्रहरीको भनाइ छ ।

 

घाइते ४० जनाको सन्देमन प्रान्तीय अस्पतालमा उपचार भइरहेको बलुचिस्तानका डिआईजी अब्दुल रजाक चिमाले जानकारी दिएका छन् ।

 

स्थानीय समयअनुसार बिहान ८ बजे शुरु भएको मतदान बेलुका ६ बजे अन्त्य भएको घोषणा गरिएको थियो । निर्वाचनको मतपरिणाम भने २४ घण्टाभित्र सार्वजनिक हुनसक्ने बताइएको छ । राष्ट्रियसभा, संसद्को तल्लो सदन र चारवटा प्रान्तीय विधानसभाका लागि बुधबार मतदान भएको हो ।

 

पाकिस्तानमा प्रतिनिधिसभा अर्थात संसद्को तल्लो सदन ३४२ सदस्यीय रहेको छ भने त्यसमध्ये २७२ स्थान प्रत्यक्ष निर्वाचित, ६० स्थान महिला आरक्षित र १० स्थान धार्मिक अल्पसंख्यकका लागि छुट्याइएको छ । प्रतिनिधिसभाका लागि तीन हजार ४५९ जना उम्मेदवार रहेका छन् । यसैगरी खैबर पाख्तुनख्वा, पञ्जाव, बलुचिस्तान र सिन्ध प्रान्तको प्रान्तीयसभाका लागि ५७७ सिट रहेको र आठ हजार ३९६ उम्मेदवार रहेका छन् ।

 

यस निर्वाचनका लागि करिब १० करोड ६० लाख मतदाताले आफ्नो नाम निर्वाचन आयोगमा दर्ता गराएकोमा करिब ५ करोड पुरुष रहेको जनाइएको छ । जनसंख्याका हिसाबले दक्षिण एसियाको दोस्रो ठूलो देशका रूपमा रहेको पाकिस्तानको यस पटकको निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

 

निर्वाचनको पूर्वसन्ध्यामा यहाँको सत्तारुढ दल नेशनल मुस्लिम लिगका नेता एवं पूर्वप्रधानमन्त्री नवाज शरीफलाई भ्रष्टाचारको अभियोगमा जेल सजाय सुनाइएको छ । निर्वाचनको मुखैमा आएर उनलाई दश वर्षको जेल सजाय सुनाइएपछि निर्वाचनमा प्रजातान्त्रिक दलहरूको सहभागिता र स्वस्थ एवं निष्पक्ष निर्वाचनका विषयमा आशंका गरिएको छ ।

पाकिस्तान हिंसात्मक घटना

विशेष