News अपराध सुरक्षा

पर्सामा घुससहित दुई कर्मचारी पक्राउ

पर्सामा घुससहित दुई कर्मचारी पक्राउ

काठमाडाैं । पर्साको धोवनी गाउँपालिकामा दुई कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।गाउँपालिका कार्यालयका लेखापाल र नायब सुब्बालाई शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान अायाेगले घुस लिँदै गर्दा पक्राउ गरेको हो । 

 

आयोग मकवानपुरबाट आएको टोलीले गाउँपालिकाका लेखापाल कृष्णनन्दन राय यादव र नासु ऐनामुल हक अन्सारीलाई हिसाब फछ्र्योट गरेबापत सेवाग्राहीबाट रु. एक लाख १० हजार घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेको हो । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित लेखापाल यादव बसेको कोठामा अख्तियारको टोलीले छापामारी नगदसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो । 

 

गाउँपालिकामा रहेको संसारीमाई मन्दिरको पर्खाल निर्माणको हरहिसाब फछ्र्योट गरेबापत ४० हजार र ढलान सडकको हरहिसाब फ्र्योटबापत रु ७० हजार कमिशन लिएको सूचनाका आधारमा छापामारी गर्दा सूचनाअनुसारको रकम बरामद भएपछि आवश्यक अनुसन्धानका लागि दुवैलाई नियन्त्रणमा लिइएको अख्तियार टोलीले जनाएको छ । 

 

गाउँपालिकामा भएका निर्माणकार्यको हरहिसाब फछ्र्योट गरेबापत लेखापाल र नासुले १० प्रतिशत घुस माग गरेको सेवाग्राहीबाट गुनासो आएपछि घुस दिन तयार पारिएको रकममा हात रातो हुने रसायन मिसाइ रकम पठाएको र पछि परीक्षण गर्दा रकम छुने कर्मचारीको हातसमेत रातो भएको अख्यितार टोलीले जनाएको छ । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि मकवानपुर लगिएको छ । 
 

पर्सा अख्तियार दुरुपयोग अनुसन्धान अायाेग

विशेष