कांग्रेस सभापति देउवाको आशंका, ‘सरकारले सहमतिमा चलखेल गर्न सक्छ’
काठमाडाैं । नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीको माग सम्बोधन गरिएपनि सहमतिमा अझै चलखेल हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
डेमोक्र्याटिक लयर्स एशोसियसनको १० औं राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दैै सहमति हुनु सकरात्मक भएपनि अझै चलखेल हुनसक्ने भन्दै सरकारलाई खबरदारी गरिरहनुपर्ने बताएका हुन् । नेपाली कांग्रेसलाई आन्दोलन गर्ने कुनै रहर नभएतापनि सरकारको व्यवहार र अप्रजातान्त्रिक प्रवृत्तिका कारण बाध्य भएर आन्दोलन गर्नुपरेको सभापति देउवाले बताए ।देशमा लोकतान्त्रिक मूल्य मान्यताविरुद् षड्यन्त्र भइरहेको भन्दै यसमा सबैलाई सचेत भएर लाग्न अनुराेध गरे । त्यसैगरी उपसभामुख र सभामुख एउटै पार्टीको भएको भन्दै दुइमध्ये एकले राजिनामा दिनैपर्ने जिकिर गरे
देउवाले पार्टीको समिक्षा गर्दै कांग्रेसभित्र अन्तरघातको समस्या व्याप्त भएकाले नै पार्टी कमजोर भएको दाबी गरे । उनले भने, ‘पार्टीभित्र अन्तरघातको समस्या व्याप्त छ, आफ्ना साथीप्रति दुश्मनी व्याप्त छ, यो रोगको निधान नभएसम्म पार्टी एक हुन सक्दैन । ’ यसका लागि पार्टीभित्रको समस्यालाई आफ्नै नेतृत्वमा हल गर्ने प्रतिवद्धता देउवाले जनाए । उनले पार्टीभित्र आपसी दुश्मनी र वैचारिक विभाजनका कारण यस्तो समस्या देखिएको हुँदा यी समस्या हल नभसम्म पार्टीले गतिशिलता नबढ्ने पनि दाबी गरे ।
त्यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी विभिन्न कारणबस कमजोर भएकाले सबै एक भएर पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राखे ।
नेपाली कांग्रस डेमोक्र्याटिक लयर्स एशोसियसन