जिल्ला विपद् व्यवस्थापन समिति लमजुङद्धारा राहत वितरण
लमजुङ । आर्थिक वर्ष ०७४/७५ मा जिल्लामा भएका विपद्का घटना पीडितलाई करीब रु तीन लाख राहत वितरण गरिएको छ ।
जिल्लामा बाढी, पहिरो, आगलागी,हावाहुरी तथा असिना जस्ता प्राकृतिक प्रकोपबाट क्षति पुगेका विभिन्न परिवारलाई रु दुई लाख ९२ हजार राहत वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति लमजुङले जनाएको छ ।
गत आर्थिक वर्षमा जिल्लामा विपद्बाट करीब रु एक करोड पाँच लाख ४३ हजारभन्दा बढी क्षतिको अनुमान गरिएको थियो । आपत्कालीन उद्धारका निम्ति सो रकम राहत उपलब्ध गराएको विपद् व्यवस्थापन समितिले जनाएको हो ।
गत आर्थिक वर्षमा विपद्बाट जिल्लाका ६७ घर पूर्ण क्षति भएको र चार घर आंशिक क्षति भएको थियो । गत वर्ष चट्याङबाट एकको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।
समितिका अनुसार हावाहुरी र असिनाबाट क्षति पुगेका ४१ घर परिवारले रु २७ हजार राहत पाएका छन् । चट्याङबाट क्षति भएका तीन घर परिवारले रु ३० हजार राहत पाएका छन् । भने चट्याङबाट मृत्यु भएका परिवारलाई राहत रकम वितरण गर्न बाँकी रहेको समितिले जनाएको छ ।
आगलागीबाट क्षति भएका १४ घरपरिवारलाई रु एक लाख १३ हजार राहत वितरण गरिएको छ । बाढी पहिरोबाट पूर्ण क्षति भएका नौ र आंशिक क्षति भएका चार घरपरिवारलाई रु एक लाख २२ हजार राहात वितरण गरिएको समितिले जनाएको छ ।
जिल्लाको क्वोलासोथारको भोजेगाउँ, मस्र्याङदीको चिप्ला र दोर्दीकै फलेनी बस्ती जोखिममा रहेको बर्षौ भए पनि हालसम्म स्थानान्तरण हुन नसक्दा पुननिर्माण प्राधिकरणबाट प्राप्त रकम पनि खर्च हुन नसकेको समितिले जनाएको छ ।