चितवनमा पाँच जना मिर्गौला तस्करी पक्राउ
चितवन । मेडिकल सिटीको रुपमा चिनिएको चितवनमा प्रहरीले मिर्गौला तस्करी गर्ने गिरोहका पाँच जनलाई पक्राउ गरेको छ । चितवनमा मिर्गौला तस्करी हुने गरेको गिरोहका पाँच जना पक्राउ पछि खुलेको हो ।
पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का ४१ वर्षका हरि परियार, दुर्गाबहादुर दर्जी, रौतहटको चन्द्रपुर नगरपालिका ४ का ३५ वर्षका बिक्रम पहरी, मकवानपुरको बकैया गाउँपालिका ५ का २८ वर्षीय प्रकाश तामाङ, मोरङको बयरबनका ३४ वर्षीय दीपक लिम्बु र रसुवाको उत्तरगया गाउँपालिका ३ का २८ वर्षीय विशाल नेपाली रहेका प्रहरीले जानकारी दिएको छ ।
चितवनमा स्वास्थ्य सम्बन्धि विभिन्न अपराधहरु हुन सक्ने भएकोले प्रहरीले २५ गते ७ जनाको टोली बनाई अनुुसन्धान थालेको थियो । दुर्गम क्षेत्रका मानिसहरुको अशिक्षा र गरिबीको फाइदा उठाई प्रलोभनमा पारी मिर्गौला बिक्री बितरण गरेको सोही अनुसन्धानबाट खुलेको चितवनका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए ।
प्रहरीले बिक्रम पहरी, प्रकाश तामाङ र दीपक लिम्बुलाई साउन १ गते चितवनबाटै, दुर्गाबहादुर दर्जीलाई साउन १ गते काठमाडौंबाट र विशाल नेपालीलाई साउन ४ गते रसुवाबाट पक्राउ गरिएको ढकालले बताएका छन । उनले यस्ता घटनामा अन्य थुप्रै व्यक्ति संलग्न भएको हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको बताए ।
डिएसपी ढकालका अनुसार ,पक्राउ परेका दुर्गा परियार बाहेकका अन्यले अरु तस्करहरुको सम्पर्कबाट भारतको विभिन्न अस्पतालहरुमा गई १÷१ वटा मिर्गौला बिक्री गरेको पाईको छ ।
उनीहरुले मिर्गौला बिक्री गर्ने मानिस खोजी सम्पर्क गराई दिए बापत एक जनाको मिर्गौला बिक्रीबाट ५० हजारदेखि एक लाखसम्म कमिसन लिने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी ढकालले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । डिएसपी ढकालले चितवनमा यस्ता किसिमका घटनाहरु हुनेबारे सामान्य जानकारी आएपछि प्रहरीको टिम नै परिचालन भई अनुसन्धान भइरहेको बताए ।
चितवन मिर्गौला तस्करी