News

मिर्गाैला तस्करी पश्चात भारतमा बिक्री

मिर्गाैला तस्करी पश्चात भारतमा बिक्री

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मिर्गाैला तस्करी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । तस्करी गरेर अरु तस्करको सम्पर्कबाट भारतको विभिन्न अस्पतालमा गई एक÷एक वटा मिर्गौला बिक्री गरेको प्रहरीले जानकारी दिए ।

 

पक्राउ पर्नेमा नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिका–४ बस्ने ४१ वर्षीय हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ बस्ने ३५ वर्षीय विक्रम पहरी, मकवानपुर जिल्लाको बकैया गाउँपालिका–५ बस्ने २८ वर्षीय प्रकाश तामाङ, मोरङ जिल्लाको बयरवन बस्ने ३४ वर्षीय दीपक लिम्बू र रसुवा जिल्ला उत्तरगया गाउँपालिका–३ बस्ने २८ वर्षीय विशाल नेपाली रहेका छन् । 

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पहरी, तामाङ र लिम्बूलाई साउन १ गते चितवनबाट, दर्जीलाई सोही दिन काठमाडौंबाट र नेपालीलाई साउन ४ गते रसुवाबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ । 

 

पाँच जनालाई पक्राउ गरिएको मिति तथा स्थान प्रहरीले उल्लेख गरि आइतबार विज्ञप्ति जारी गरेको छ । निजले सोझासिधा तथा निमुखा सर्वसाधारणलाई प्रलोभनमा पारी भारतको विभिन्न अस्पतालमा सम्पर्क गराई मिर्गौला तस्करी गर्ने गरेको खुल्न आएको विज्ञप्तिमा जनाइएको छ । 

 

मिर्गौला बिक्री गर्ने मानिस खोजी गरी सम्पर्क गराइदिएबापत एक जनाको मिर्गाैला बिक्रीबाट ५० हजारदेखि एक लाखसम्म कमिशन लिने गरेको अनुसन्धानबाट खुल्न आएको ढकालले बताए । 

 

संलग्न अन्य व्यक्तिको समेत खोजतलास भइरहेको छ । पक्राउ परेकाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान भइरहेको छ । 
 

विशेष