मुलुकभर भारी वर्षा हुने, सतर्क रहन मौसमविद्को आग्रह
काठमाडौँ । आउँदो तीन दिनसम्म मनसुन सक्रिय भई मुलुकभरि भारी वर्षा हुने अनुमान गरिएको छ । बढी वर्षा हुने भएकाले नदी किनारका बस्ती र बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
मौसम पूर्वमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले आइतवारदेखि मनसुन विशेष रूपमा सक्रिय भई तीन दिनसम्म मुलुकको अधिकांश भूभागमा हल्कादेखि मध्यम खालको तथा अन्य केही स्थानमा भारी वर्षा हुने समभावना रहेको बताएका छन् । उनको भनाई अनुसार तीन दिनसम्म मुलुकभरि बर्षा हुनेएकोले सतर्कता अपनाउन सबैसँग आग्रह समेत गरीएको छ ।
उनले पश्चिमी भूभागमा वर्षाको कम सम्भावना रहे पनि एक दुई स्थानमा भारी वर्षा हुने बताएका छन् । मनसुनी न्यून चापीय रेखा नेपालको नजिक रहेको हुनाले मनसुन अहिले पूर्ण सक्रिय रहेको उनले बताए । साँझ र रातिको समयमा बढी बर्षा हुनु सक्ने सम्भावना रहेको उनले बताएका छन् ।
आइतबार दिउँसो र रातको दुबै समयमा देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा एक,दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । सोमबार मुलुकभरि मौसम बदली भई केही स्थानमा हल्कादेखि मध्यम खालको तथा एक,दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताए।
त्यसैगरी, जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सबैसँग आग्रह गरेको छ । शनिवार आगामी तीन दिनसम्मको बाढी बुलेटिन सार्वजनिक गर्दै शाखाले सो आग्रह गरेको हो ।