भारतमा बाढीबाट ६ सयको मृत्यु
नयाँदिल्ली । भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरूको संख्या ६ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार, हजारौँ घर डुबानमा परेको, बगेको र क्षतिग्रस्त भएको छ ।
त्यसैगरी दसौँ लाख मानिस घरबारविहीन भएका छन् भने देशका ६ वटा प्रदेशमा बाढी र पहिरोको प्रकोप बढी देखिएको छ । भारतमा जुलाई र अगस्ट महिनामा अत्यधिक वर्षा हुने गर्दछ ।
भारतका टेलिभिजन च्यानलहरूले कारसहितका सवारीसाधन सडकमा जमेको पानीमा डुबेको दृश्य प्रसारण गरेका छन् ।
बाढीपहिरोबाट देशभरका कार्यालय भवन र आवासीय घर प्रभावित भएको समाचारमा जनाइएको छ । यसरी प्रभावित हुनेमा नयाँदिल्लीका केही भाग र छिमेकी नोयडाका गाउँहरू पनि रहेका छन् ।
सञ्चारमाध्यमहरूले बाढीपहिरोबाट सबैभन्दा बढी प्रभाव दक्षिण पश्चिमी राज्य महाराष्ट्रमा परेको जनाएका छन् । त्यस राज्यमा मात्रै १ सय ४० भन्दा बढीको मृत्यु भएको छ । त्यसैगरी दक्षिणी राज्य केरलामा १ सय २६, पश्चिम बंगालमा १ सय १६, उत्तर प्रदेशमा ७०, गुजरातमा ५२ र असाममा ३४ जनाको मृत्यु भएको छ ।
भारत सरकारले बाढीपहिरोबाट प्रभावितको खोजी, उद्धार तथा राहत प्रदान गर्न देशका अति प्रभावित ६ वटा राज्यमा राष्ट्रिय प्रकोप सहायता बल (एनडिआरएफ) का ४३ टोली परिचालन गरेको छ । सबै एनडिआरएफमा कम्तीमा ४५ जना रहेका छन् ।
बाढीपहिरोबाट मानवीय र भौतिक संरचनाको क्षतिसँगै ठूलो मात्रामा खेतीयोग्य जमिनसमेत नष्ट भएको छ । –एजेन्सी
भारतमा बाढीबाट ६ सयको मृत्यु