News मुख्य समाचार

पुरुषको तुलनामा महिला रक्तदाता न्यून

पुरुषको तुलनामा महिला रक्तदाता न्यून

काठमाडौं । पुरुषको तुलनामा महिला रक्तदाताको संख्यामा सुधार हुन सकिरहेको छैन । ‘रक्तदान गर्दा स्वास्थ्यमा खासै असर पर्दैन’ भन्ने पर्याप्त जानकारी नहँुदा महिला रक्तदाता संख्या बढ्न नसकेको हो ।

 

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले गत वर्ष ६२ हजार ३ सय ५३ युनिट रगत संकलन गरेको थियो । तीमध्ये १० हजार ६८ युनिट महिला र ५२ हजार २ सय ८५ पुरुष रक्तदाताबाट संकलन भएको थियो ।

 

अघिल्लो वर्षको तुलनामा महिला रक्तदातामा केही सुधार देखिएको छ । अघिल्लो वर्ष करिब नौ हजार महिलाले रक्तदान गरे ।“ महिला रक्तदाताको संख्या बढाउन देशव्यापी अभियानमा जुटिरहेको छ”, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले भने ।

देशव्यापीरूपमा आर्थिक वर्ष २०७४÷७५ मा दुई लाख ६२ हजार ४ सय ३९ युनिट रगत संकलन भएको थियो । तीमध्ये तीन लाख ४४ हजार ९ सय ३३ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराइएको थियो ।

 

हाल ७३ जिल्लाका १०८ स्थानमा रक्तसञ्चार सेवा केन्द्र तथा एकाइबाट रक्त संकलन भइराखेको छ । ती रक्तदातामध्ये ६६ जनामा एचआइभी पोजेटिभ देखिएको छ । केन्द्रका अनुसार हेपाटाइटिस बी र सी देखिएका रक्तदाताको संख्या क्रमशः ४ सय ६६ र ३ सय ५१ छ ।

 

नेपालभर ३.१० प्रतिशत रक्तदातामा ए, बी, ओ र एबि नेगेटिभ रहेको जनाइएको छ । तर उपत्यकामा भने नेगेटिभ रक्तसमूह हुने रक्तदाता २.९ प्रतिशत रहेको बताइएको छ ।

 

नेपालमा ०२३ साउन १२ गते नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको स्थापना भएको थियो । सो वर्ष १ सय ५७ युनिट रगत संकलन भयो । काठमाडौं उपत्यकाभित्र सबैभन्दा बढी रगत खपत हुने गर्दछ ।

 

यसैबीच, केन्द्रको ५२ औं स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आइतबार मनाइयो । कार्यक्रममा  केन्द्रीय अध्यक्ष थापाले रक्तसञ्चार सेवा र वितरणलाई अझ गुणस्तरीय बनाउन सोसाइटीले उच्च प्राथमिकता दिएको चर्चा गर्दै रक्तसञ्चार सेवामा सरकारको लगानी बढाउँदै लान आग्रह गरे ।

 

केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. हरिशचन्द्र उप्रेतीले ५२ वर्षदेखि रक्तसञ्चार सेवामा केन्द्रले राम्रो काम गर्दै आएको बताए ।

 

केन्द्रका प्रमुख डा. मनिता राजकर्णिकारले अझै १८ प्रतिशत रगत सेवा बिरामीको आफन्तबाट सोध भर्ना गर्नुपरेको अवस्थालाई अन्त्य गर्न केन्द्रले जोड दिइराखेको बताइन् ।

 

कार्यक्रममा सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकाल, प्रदेशसभा सदस्य नरोत्तम बैद्य, आइसिआरसीका प्रतिनिधि प्रमेश पौडेल, नेपाल रेडक्रसका महामन्त्री देवरत्न धाख्वा र उममहामन्त्री हरि न्यौपानेले रक्तसेवा केन्द्रका गतिविधिबारे चर्चा गरेका थिए ।

 

नेपाल रेडक्रस सोसाइटी

विशेष