News राजनीति

‘मिस्टर मार्सी’ दुर्गा प्रसाईंलाई कारबाही गर्न प्रस्ताव दर्ता

‘मिस्टर मार्सी’ दुर्गा प्रसाईंलाई कारबाही गर्न प्रस्ताव दर्ता

काठमाडौं । पछिल्लो पटक ‘मिस्टर मार्सी चामल’ उपनामले चर्चित बिएन्डसी अस्पताल झापाका सञ्चालक दुर्गाप्रसाद प्रसाईंमाथि कारबाहीको मागसिहत प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डिला संग्रौलाले
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम सार्वजनिक महत्वको प्रस्ताव आइतबार संसद् सचिवालयमा दर्ता गराएकी हुन् । 
प्रस्तावको समर्थनमा कांग्रेसकै लक्ष्मी परियार र प्रमिला राईले हस्ताक्षर गरेकी छन् । 

 

सांसद प्रसाईंले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत बंगलादेशमा मेडिकल शिक्षा आर्जन गरी स्वदेश फर्किएका तथा हाल त्यहाँ अध्ययनरत छात्रछात्राहरूप्रति अपमानपूर्ण अभिव्यक्तिले दिएर संविधान र कानुनको ठाडो उल्लंघन गरेको आरोप लगाइएको छ । 

 

प्रस्तावमा ‘दुर्गा प्रसाईंले दिएको अभिव्यक्तिले नेपालको दशकौँ पुरानो मित्रराष्ट्र बंगलादेशसँगको कूटनीतिक सम्बन्धमा समेत ठूलो आँच पु¥याएको अवस्थामा निजविरुद्ध संविधान र कानुनबमोजिम तत्काल आवश्यक कारबाही गरियोस् भनी यो प्रस्तावको सूचना दिएको छु ।’
उक्त प्रस्तावमाथि संसद्को कार्यव्यवस्था समितिमा छलफल गरेर सदनमा प्रस्तुत गर्ने कि नगर्ने भन्ने विषयमा सर्वप्रथम दलहरूबीच रायसल्लाह गरिने छ ।

दलहरूको सहमतिमा उक्त प्रस्ताव सदनमा छलफलका लागि लाने भनी मञ्जुरी भएमा सो प्रस्तावमाथि सभामुख कृष्णबहादुर महराले उपयुक्त दिनका लागि मिति तोकेर छलफल गराउन सक्छ । सो प्रस्तावमाथि छलफल सकेर सर्वसम्मत रूपमा प्रस्ताव पारित भएमा सरकार प्रसाईंमाथि कारबाही गर्न वाध्य हुनेछ । यदि प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएमा दुर्गा प्रसाईंका विषयमा पक्ष विपक्षमा चर्चा मात्र हुनेछ । 
संसदीय राजनीतिक गणित र प्रसाईंको राजनीतिक पहुँचका आधारमा भन्ने हो भने प्रस्ताव संसद्को कार्यव्यवस्था समितिमा नै तुहिने सम्भावना छ । 

प्रसाईंले डा. गोविन्द केसी र बंगलादेशमा पढ्न जाने गरेकी छात्राहरूको सम्बन्धमा अति क्षुद्र र निकृष्ट अभिव्यक्ति दिँदै आएकाले उनी आलोच्य बनेका हुन् । 

उनले झापामा मेडिकल कलेज खोल्न विनापूर्वाधार राजनीतिक पहुँचका आधारमा सम्बन्धन लिएर बिएन्डसी मेडिकल कलेज सञ्चालन गरिरहेका छन् । डा. केसीले बिएन्डसीजस्ता शिक्षण अस्पताललाई सम्बन्धन दिनु हुँदैन भन्ने माग राखी आमरण अनशन बसेकाले प्रसाईंले पछिल्लो दिनमा अमर्यादित अभिव्यक्ति प्रकट गर्दै आएका छन् । 

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रसाईंको झापास्थित घरमा मार्सी चामलको भात खाँदै गरेको तस्बिर पोस्ट भएपछि उनलाई ‘मिस्टर मार्सी’ भन्न थालेको हो ।       
 

दुर्गाप्रसाद प्रसाईं

विशेष