News मुख्य समाचार

प्रदेश ४ को नाममा किचलो : सत्तारुढ दलभित्रै विवाद

प्रदेश ४ को नाममा किचलो : सत्तारुढ दलभित्रै विवाद

कास्की । प्रदेश ४ को नाम के राख्ने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टीभित्रै सहमति नजुटेपछि मंगलबारको प्रदेशसभा बैठक स्थगित भएको छ । गएको असार १० गते नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले उपयुक्त विकल्पसहितको प्रतिवेदन सदनमा टेबुल गरेका थिए।

 

त्यसपछि कुनै छलफल नगरी असार १७ गतेका लागि बैठक स्थगित भयो । १७ गते आइतबार बसेको बैठकले राजधानीको विषयमा मात्रै छलफल गरेको थियो । सोमबारसमेत थप छलफल गरी पोखरालाई सर्वसहमतिले राजधानी घोषणा भएको छ ।

 

मंगलबारका लागि नाममाथि छलफल गर्ने तयारी भए पनि सत्तारुढ दल नेकपाभित्रै सहमति नभएपछि बैठक नै नबसी सूचना टाँस गरेर स्थगित भएको छ । कार्यव्यवस्था परामर्श समितिमा सहमति गरेर बैठक २ दिनका लागि स्थगित गरिएको हो ।


 

नामको विषयमा अब असार २१ गते मात्रै छलफल चल्नेछ । यसका लागि अन्य दलले आफ्ना धारणा दिइसकेका छन् । तर नेकपाबीचमा के नाम पठाउने भन्ने टुंगिएको छैन । यसअघि तत्कालीन एमालेले गण्डकी प्रदेश राख्न सिफारिस गरेको थियो ।

 

तत्कालीन माओवादीले कुनै पनि सुझाव दिएको थिएन । तर पार्टी एक भैसकेको अवस्थामा प्रदेशको नाम के राख्ने भन्नेमा भने नेकपभित्रै मतभेद उत्पन्न भएको छ ।केहीले गण्डकी तमुवान राख्ने प्रस्ताव अघि सारे पनि केहीले चाहिँ त्यसको विरोध गर्दै गण्डकी नाम राख्नुपर्नेमा जोड दिदैँ अाएका छन् ।

 

अरु पार्टीले गण्डकी उपयुक्त हुने सुझाव पेश गरेका छन् । नयाँ शक्तिले गण्डकीलाई दोश्रो प्राथमिकतामा राखेको छ । पहिलो प्राथमिकतामा गण्डकी तमुवान नै छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसल र जनमोर्चाले गण्डकी सबैको साझा अपनत्वको नाम हुने उल्लेख गरेको छ ।

 

सुझाव संकलन समितिले पनि गण्डकीमा अधिक जनताको प्राथमिकता परेको प्रतिवेदन बुझाएको छ । दोश्रोमा तमुवान मगरात र तेश्रोमा गोरखा प्रदेश राख्ने सुझाव समितिको प्रतिवेदनमा उल्लेख छ । नेकपाले २१ गतेको बैठकमा सर्वसम्मत नाम सिफारिस गर्ने जनाएको छ ।
 

विवाद प्रदेश ४ को नाम सत्तारुढ दल

विशेष